त्रिवि वार्षिकोत्सवमा शिक्षामन्त्रीविरुद्ध विद्यार्थीको विरोध : आगामी चार वर्षमा विश्वविद्यालयमा पूर्ण रूपमा राजनीति बन्द गर्ने शिक्षामन्त्रीको दाबी

शुक्रबार, ८ साउन, २०८३
डिजिटल संस्करण

त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिक दिवस कार्यक्रममा उपस्थित भएका शिक्षामन्त्री सस्मित पोखरेलविरुद्ध विद्यार्थीले विरोध प्रदर्शन गरेका छन् । बिहीबार मन्त्री पोखरेल पुग्ने क्रममा त्रिवि परिसरमा विद्यार्थीले नाराबाजी गर्दै विरोध जनाएका हुन् ।

विद्यार्थीले शिक्षामन्त्रीलाई ‘नेपोबेबी’को आरोप लगाउँदै विरोध गरेपछि प्रहरीले पाँच विद्यार्थीलाई पक्राउसमेत गरेको थियो । विद्यार्थीले त्रिविका पदाधिकारी नियुक्तिमा मेरिटोक्रेसी लागू गर्न माग गरेका थिए । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)का विद्यार्थीले मन्त्री पोखरेललाई भेटेर सिनेट बैठक आह्वान गर्न आग्रह गर्न खोज्दा आफूहरूलाई रोकिएको भन्दै नाराबाजी गरेका थिए ।

विद्यार्थीले जायज माग राख्दा उल्टै निषेध गरिएपछि विरोधमा उत्रिएको त्रिवि स्ववियु अध्यक्ष दीपक जोशीले बताए । उनका अनुसार कार्यक्रममा विद्यार्थीलाई सहभागी नै हुन दिइएन । सभाहलमा प्रवेश गर्न खोज्ने स्ववियु सचिव हिक्मत बुढासहितका केही विद्यार्थीलाई पक्राउ गरिएको थियो । उनीहरूलाई बिहीबारै रिहा गरिएको छ । सिनेट तथा वार्षिकोत्सवमा विद्यार्थीले आफूहरूलाई सहभागी हुन दिनुपर्ने माग राखेका थिए । उनीहरूले विश्वविद्यालयको सिनेट बैठक नियमित रूपमा बस्नुपर्ने मागसमेत गरे । ‘हामीले सिनेट बैठकको मागसहित अन्य जायज माग राखेका हौँ, तर विद्यार्थीलाई प्रवेश गर्न नदिने र पक्राउ गर्ने तरिका ठिक भएन,’ त्रिवि स्ववियु सभापति जोशीले भने, ‘विद्यार्थीले जायज माग त राख्न पाउनुपर्यो नि !’

त्रिविको वार्षिकोत्सवमा प्रधानमन्त्री तथा कुलपति प्रधानमन्त्री बालेन्द्र शाह भने अनुपस्थित भए । विगतको परम्पराअनुसार वार्षिकोत्सव तथा सिनेट बैठकमा कुलपतिको सहभागिता हुँदै आइरहेको थियो । तर, व्यस्तताको कारण देखाउँदै प्रधानमन्त्री शाह वार्षिकोत्सवमा उपस्थित भएनन् । ‘विगतमा वार्षिकोत्सवमा त्रिवि सभा हुन्थ्यो, तर यसपटक त्रिवि सभा भएन, विगतमा पनि नीति तथा कार्यक्रम र बजेट ढिलो ल्याइन्थ्यो, यसपटक पनि ढिलो ल्याउने देखियो,’ त्रिविका एक कर्मचारीले भने ।

हालसम्म प्रधानमन्त्री बनेको झन्डै चार महिना पुग्न लाग्दा कुलपतिसमेत रहेका शाह त्रिविमा पुगेका छैनन् । विगतमा प्रधानमन्त्रीले जस्तै उनले पनि प्रधानमन्त्री कार्यालयमै त्रिविको मिटिङ राख्ने गरेका छन् । हालसम्म उनले त्रिविको एउटा बैठक मात्रै राखेका छन् । त्यो बैठक प्रधानमन्त्री कार्यालयमै राखिएको थियो । उक्त बैठक यसअघिका उपकुलपति प्राडा दीपक अर्याल हुँदा राखिएको थियो । तर, अन्य बैठक भने हुन सकेको छैन ।

शिक्षामन्त्री तथा त्रिविका सहकुलपति सस्मित पोखरेलले आगामी चार वर्षभित्र विश्वविद्यालयमा हुने राजनीति पूर्ण रूपमा रोक्ने बताएका छन् । बिहीबार त्रिवि वार्षिकोत्सवमा पुगेका मन्त्री पोखरेलले मेरिटोक्रेसीको आधारमा विश्वविद्यालयको टिम निर्माण हुने दाबी गरे । ‘अब कहिल्यै पनि राजनीतिक रूपबाट कसैलाई कहाँ राख्ने कसैलाई कहाँ राख्ने, सरुवा गर्नुपर्ने, कतै बढुवा गर्नुपर्ने, कतै नियुक्ति गर्नुपर्ने त्यो राजनीतिक रूपबाट विश्वविद्यालयमा दबाब कहिल्यै पनि आउँदैन, आयो भने शिक्षा मन्त्रालयलाई तुरुन्त जानकारी गराउनुहोला,’ उनले भने, ‘अब विश्वविद्यालयमा जे हुन्छ त्यो मेरिटोक्रेसीको आधारमा हुन्छ, राजनीतिक रूपमा अब केही पनि हुँदैन ।’ 

सुझावित समाचार