सिराहाबाट चार लाख मूल्यको मदिरासहित कार बरामद

बिहिबार, ७ साउन, २०८३
डिजिटल संस्करण

सशस्त्र प्रहरी बल नेपालको सुरक्षा गस्ती टोलीले सीमा नाका छलेर अवैध रूपमा भारततर्फ निकासी गर्न खोजिएको करिब चार लाख रुपैयाँको मदिरासहित कारलाई नियन्त्रणमा लिएको छ।

सिराहास्थित सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुमनजंग थापाका अनुसार बिहीबार बिहान करिब २ बजेतिर भगवानपुर गाउँपालिका– ३, धाँतीस्थित दशगजा नजिकबाट करिब चार लाख मूल्यबराबरको विभिन्न कम्पनीका मदिरा र लोड गरिएको डिएल ७ सिएच ९७९२ नम्बरको कार बरामद भएको हो।

भगवानपुरको इनर्वास्थित सीमा सुरक्षा गुल्म हेडक्वार्टरको नौजनाको गस्ती टोलीले अवैध रूपमा नेपाल हुँदै भारततर्फ निकासी गरिरहेको अवस्थामा कार र मदिरा नियन्त्रणमा लिएको उनले बताए।

राती अँध्यारोमा चालक भने फरार भएकाले खोजी गरिरहेको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरीका अनुसार करिब चार लाख रुपैयाँ मूल्यका ब्ल्याक ओक र कस्तुरी रक्सी तथा अर्ना क्यान र बाह्रसिंगे बियर एवं १७ लाख २७ हजार मूल्यको कार बरामद गरी माडर भन्सार कार्यालय बुझाइएको छ।

सुझावित समाचार