सिराहाको लहान नगरपालिका– ६ स्थित आन्तरिक राजस्व कार्यालयका कर अधिकृत सेवाग्राहीसँग लिएको पाँच लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्।
महोत्तरीको बर्दिबासस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार दिउँसो कर अधिकृत युवराज एमएस पाललाई सेवाग्राहीबाट घुसबापत लिएको पाँच लाख रुपैयाँसहित पक्राउ गरेको हो।
कर अधिकृत पालले आर्थिक वर्ष ०७८-७९ को पूर्ण कर लेखा परीक्षणका लागि सेवाग्राहीले पेस गरेका कागजातहरू पटक-पटक मिलेन भन्दै हैरानी दिएर घुस लिएको भन्ने गुनासोको आधारमा उनलाई घुससहित पक्राउ गरिएको अख्तियारले जनाएको छ।
सेवाग्राहीको गुनासोपछि गएको अख्तियारको टोलीले पालको कार्यकक्षबाट घुस रकम बरामद भएपछि उक्त रकम र एक थान मोबाइलसहित नियन्त्रणमा लिएर प्रक्रिया पूरा गरी बर्दिबास लगिएको अख्तियारले जनाएको छ।