नेपाल एसोसिएसन फर सफ्टवेयर उन्ड आइटी सर्भिसेज कम्पनिज (नास आइटी) एक्स्पो–२०२६ आगामी मंसिर ५ र ६ मा हुने भएको छ । दुईदिने एक्स्पोले नेपालको प्रविधि क्षेत्र, व्यवसाय, नीति–निर्माता, लगानीकर्ता, उद्यमी, विद्यार्थी तथा प्रविधिप्रेमीलाई एकै थलोमा ल्याई नवप्रवर्तन, सहकार्य तथा व्यावसायिक अवसर सिर्जना गर्ने लक्ष्य राखेको बताइएको छ ।
नास–आइटीले गत वर्षको सफलतालाई निरन्तरता दिँद यस वर्ष पनि एक्स्पो गर्न लागिएको जनाएको छ । एक्स्पोले प्रविधि कम्पनीलई आफ्ना नवीन समाधान प्रस्तुत गर्ने, व्यवसायसँग प्रत्यक्ष रूपमा जोडिने तथा दीर्घकालीन सहकार्य र साझेदारी विस्तार गर्ने मञ्च प्रदान गर्ने उद्देश्य राखेको छ । साथै, यसले नेपालको डिजिटल रूपान्तरणलाई थप गति दिने विश्वास पनि लिइएको छ ।
एक्स्पोमा अग्रणी आइटी कम्पनी तथा नवप्रवर्तनशील स्टार्टअपहरूको प्रविधि प्रदर्शनी रहने आयोजकले जनाएको छ । त्यस्तै, व्यवसायका वास्तविक चुनौती समाधान गर्ने उत्पादन तथा प्रविधि समाधानको प्रदर्शन, प्रविधि कम्पनी, व्यवसाय, लगानीकर्ता तथा सरोकारवालाबिच नेटवर्किङ तथा सहकार्यका अवसर पनि प्रदान गरिने बताइएको छ । डिजिटल रूपान्तरण, कृत्रिम बौद्धिकता, साइबर सुरक्षा, क्लाउड कम्प्युटिङ तथा उदीयमान प्रविधिसम्बन्धी ज्ञानमूलक सत्र पनि सञ्चालन गरिने आयोजको भनाइ छ ।