नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को आयोजनामा हुने एनएसजेफ पल्सर स्पोर्टस् अवार्ड, २०८३ आगामी १८ भदौमा हुने भएको छ । २३औँ संस्करणको स्पोर्टस् अवार्ड यसपटक नेपाल पुलिस क्लबको ‘द ब्लु पबेलियन’मा गरिने मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले बताए ।
‘गत वर्ष भव्यताका साथ पोखरामा अवार्ड कार्यक्रम गरेका थियौँ । यसपटक काठमाडौंमा हुनेछ,’ अधिकारीले भने । यसैबिच मञ्चले अवार्डका लागि मुख्य प्रायोजक गोल्छा ग्रुपसँग बुधबार एक कार्यक्रमबिच सम्झौता गरेको छ । गोल्छा ग्रुप लगातार १९औँपटक अवार्डको मुख्य प्रायोजकका रूपमा जोडिएको हो ।
गत वर्ष मञ्च र गोल्छाबिच पाँच वर्षका लागि सम्झौता भएको थियो । सम्झौतामा मञ्चका अध्यक्ष अधिकारी र गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले हस्ताक्षर गरेका थिए । अभिमन्युले लगातार अवार्डसँग जोडिन पाउँदा खुसी भएको बताए । ‘नेपाली खेलकुदको स्तर वृद्धि गर्न गोल्छा ग्रुप निरन्तर अगाडि बढिरहेको छ,’ उनले भने, ‘मञ्चसँग १९ वर्षसम्म जोडिन पाउँदा गर्व गर्छौँ ।’ मञ्चका अध्यक्ष अधिकारीले गोल्छा ग्रुपसँगको सहकार्यमा अवार्डलाई झनै व्यवस्थित बनाउने बताए ।
नौ विधामा अवार्ड
मञ्चका महासचिव अञ्जन खड्काले नौ विधामा अवार्ड प्रदान गरिने जानकारी गराएका छन् । त्यसमा वर्षका उत्कृष्ट पुरुष र महिला खेलाडी, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्टस् जर्नालिस्ट अवार्ड यसपटक पनि समावेश गरिएको खड्काले बताए ।
वर्ष खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस विधाको मनोनयन केही दिनपछि सार्वजनिक गरिनेछ । मञ्चको खेलाडी छनोट समितिले तयारी सुरु गरिसकेको छ । मनोनयनमा समान पाँचजना रहने प्रावधान छ ।
लाइफटाइम, स्पेसल, पारा एथलिट र एसियन स्पोर्टस् जर्नालिस्ट अवार्ड विधाको विजेताको घोषणा अवार्डकै दिन हुनेछ । भोटिङमार्फत हुने भएकाले पिपल्स च्वाइस विधाको मनोनयन छिट्टै सार्वजनिक गरिने महासचिव खड्काले जानकारी गराएका छन् ।
वर्ष खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा विधाका विजेतालाई पल्सर मोटरसाइकल प्रदान गरिनेछ । अन्य विधाका विजेता तथा सम्मानित व्यक्तिलाई जनही एक लाख रुपैयाँ प्रदान गरिनेछ । यसैगरी, पल्सर स्पोर्टस् अवार्ड, २०८३ का लागि अध्यक्ष अधिकारीको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ ।
गत वर्ष दीपेन्द्रले जितेका थिए
गत वर्ष पुरुषतर्फ क्रिकेटका दीपेन्द्रसिंह ऐरी र महिलामा कराँतेकी एरिका गुरुङले अवार्ड जितेका थिए । युवातर्फ क्रिकेटकी पूजा महतो र प्रशिक्षकतर्फ पारा तेक्वान्दोका कविराज नेगी लामाले अवार्ड जिते । सर्वाधिक मत ल्याएर पिपल्स च्वाइसको अवार्ड भलिबलका हिमाल सुनारीले जितेका थिए । स्पेसल अवार्डबाट तेक्वान्दोका तुलसी कुमार गुरुङ, पारा एथलिट सम्मानबाट प्रभा आङ्देम्बे, एसियन स्पोर्टस् जर्नालिस्ट अवार्डबाट बगलादेशका पत्रकार राना हसन र लाइफटाइम एचिभमेन्ट अवार्डबाट खड्ग रानाभाटलाई सम्मानित गरिएको थियो ।