पूर्वीनाका काँकडभिट्टाबाट हुने वैदेशिक व्यापारमा गत आर्थिक वर्ष ०८२/८३ मा ३६ अर्ब ३८ करोड घाटा भएको छ । मेची भन्सार कार्यालयका अनुसार गत आवमा ३६ अर्ब ३८ करोड ३० लाख ४२ हजार ९२० रुपैयाँ व्यापार घाटा देखिएको हो । यो आर्थिक वर्षमा ६२ अर्ब ६८ करोड ७४ लाख २६ हजार ७६० रुपैयाँ मूल्यको आयात हुँदा २६ अर्ब ३० करोड ४३ लाख ८३ हजार ७८० मूल्यबराबरको निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ ।
आर्थिक वर्ष ०८१/८२ को यही अवधिमा २५ अर्ब ८३ करोड १० लाख ६४ हजार ३२० रुपैयाँ वैदेशिक व्यापार घाटा थियो । सो वर्ष ०८२/८३ मा ५१ अर्ब ८ करोड ६५ लाख ८ हजार ६८० मूल्यको आयात हुँदा २५ अर्ब ८३ करोड १० लाख ६४ हजार ३२० मूल्यबराबरको निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ ।
नेपालबाट भारत, चीन, बंगलादेश, भुटान, इन्डोनेसिया, भियतनाम, मलेसियालगायत १९ देशसँग व्यापार हुँदै आएको छ । पूर्वीनाकाबाट पेट्रोलियम पदार्थ, जुट, एलपी ग्यास, भटमासको पिना, जिप्सन, सिमेन्टको क्लिन्कर, मुसुरोलयागत सामग्री ठुलो मात्रामा आयात हुन्छ भने नेपालबाट अलैँची, चिया, प्लाइउड, कुकुर वा बिरालोको खाना, भेनियर सिट, अदुवा, सुठो, अम्रिसोलगायतका नेपाली उत्पादन निर्यात हुने गरेको मेची भन्सार कार्यालयको तथ्यांकले देखाएको छ ।
यस्तै, आर्थिक वर्ष ०८२/८३ मा मेची भन्सार कार्यालयले लक्ष्यको ९३ दशमलव ३० प्रतिशत मात्रै राजस्व संकलन भएको जनाएको छ । १८ अर्ब ८७ करोड ७४ लाख राजस्व संकलन गर्न लक्ष्य लिए पनि १७ अर्ब ६७ करोड ७२ लाख मात्र संकलन गरेको छ ।
भारतको अवरोधले १८ प्रतिशतले घट्यो चिया निर्यात
नेपाली चियालाई परीक्षणको बहानामा आर्थिक वर्ष ०८२/८३ मा करिब दुई महिना भारतले अवरोध गर्दा चिया निर्यातमा गत वर्षको तुलनामा १८ दशमलव १२ प्रतिशत गिरावट आएको छ । आर्थिक वर्ष ०८२/८३ मा ३ अर्ब ५२ करोड ९६ लाख ६९ हजार मूल्यबरारबरको एक करोड ३० लाख ४५ हजार ७९१ केजी चिया निर्यात भएको छ । जबकि आर्थिक वर्ष ०८१/८२ मा चार अर्ब १६ करोड ९३ लाख ५८ हजार मूल्यबराबरको एक करोड ५३ लाख ११ हजार ५५५ केजी चिया निर्यात भएको मेची भन्सार कार्यालय काँकडभिट्टाले जनाएको छ । ‘चियाको मुख्य सिजनमा नै उद्योग बन्द गर्नुपर्यो । त्यसकारण पनि उत्पादनमा समेत समस्या आयो । भारतले निरन्तर अवरोध गर्दा निर्यात घटेको हो,’ सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसनका अध्यक्ष डिल्ली श्रेष्ठले भने, ‘अहिले समस्या समाधान भएको छ । अब यस्तो समस्या आउनु हुँदैन । यस्तो समस्या आएमा किसान पनि रहँदैनन् । उद्योग पनि रहँदैन ।’
यस्तै, पूर्वीनाकाबाट सबैभन्दा धेरै निर्यात हुने नेपाली उत्पादन अलैँचीको निर्यात बढेको मेची भन्सार कार्यालयको तथ्यांकले देखाएको छ । अलैँचीको निर्यात ३९ दशमलव २७ प्रतिशतले वृद्धि भएको हो । आर्थिक वर्ष ०८२/८३ मा १२ अर्ब ६३ करोड ६९ लाख ७० हजार मूल्यबराबरको ६३ लाख ८५ हजार ८७० केजी अलैँची निर्यात भएको छ । आर्थिक वर्ष ०८१/८२ मा ७ अर्ब ६७ करोड ४० लाख ३७ हजार मूल्यबराबरको ४२ लाख ९४ हजार ५५० केजी अलैँची निर्यात भएको मेची भन्सार कार्यालयको तथ्यांकमा उल्लेख छ ।