उदयपुरको कटारीस्थित कटारी प्रादेशिक अस्पतालमा मंगलबारदेखि हाडजोर्नी (अर्थोपेडिक) सेवा औपचारिक रूपमा सुरु भएको छ। सेवा सुरु भएकै दिन अस्पतालले पहिलो हाडजोर्नी शल्यक्रिया सफलतापूर्वक सम्पन्न गर्दै विशेषज्ञ स्वास्थ्य सेवा सुरु गरेको हो।
अस्पतालमा सुरु भएको नयाँ अप्रेसन कक्षमा उपचारका लागि आएका ६ वर्षीय एक बालकको भाँचिएको खुट्टाको हड्डीको सफल शल्यक्रिया गरिएको हो। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा गौरव साहका अनुसार अर्थोपेडिक टोलीले शल्यक्रियामार्फत बालकको उपचार सफलतापूर्वक सम्पन्न गरेको छ र उनको स्वास्थ्य अवस्था अहिले सामान्य छ।
शल्यक्रियामा हाडजोर्नी विशेषज्ञ डा. रमानन्द यादव तथा एनेस्थेसियोलोजिस्ट डा. सुरेश साहको टोली संलग्न थियो। डा. साहले भने, ‘अस्पतालले पछिल्ला तीन महिनादेखि हाडजोर्नी सेवा सञ्चालनका लागि आवश्यक जनशक्ति, उपकरण र अप्रेसन कक्षको तयारी गरिरहेको थियो। तयारी पूरा भएकै दिन पहिलो शल्यक्रिया सफल हुनु अस्पतालका लागि महत्वपूर्ण उपलब्धि मान्नुपर्छ।’
उपचार गरिएका बालक कटारी नगरपालिकाका नगरप्रमुख राजेशचन्द्र श्रेष्ठका भतिजा रहेको जानकारी दिँदै डा. साहले स्थानीय स्वास्थ्य संस्थामाथि विश्वास बढाउन जनप्रतिनिधिहरूले आफ्नै परिवारका सदस्यको उपचार स्थानीय अस्पतालमै गराउनु सकारात्मक सन्देश भएको बताए।
५० शय्यामा स्तरोन्नति भएपछि अस्पतालले विशेषज्ञ सेवा विस्तारलाई प्राथमिकता दिएको छ। अस्पताल प्रशासनका अनुसार अहिले ओपीडी कक्ष थप्ने, वार्ड विस्तार गर्ने तथा आन्तरिक व्यवस्थापन सुधारका काम पनि तीव्र गतिमा अघि बढिरहेका छन्। सीमित भौतिक पूर्वाधारका बाबजुद सेवा विस्तारलाई निरन्तरता दिइएको अस्पतालले जनाएको छ।
यसअघि १५ शय्याको कटारी नगर अस्पतालका रूपमा सञ्चालन हुँदै आएको स्वास्थ्य संस्था करिब ६ महिनाअघि ५० शय्याको प्रादेशिक अस्पतालमा स्तरोन्नति भएको थियो।
अर्थोपेडिक सेवा सुरु भएसँगै अब हाडजोर्नीसम्बन्धी सामान्यदेखि जटिल उपचारका लागि कटारी र आसपासका सर्वसाधारणलाई विराटनगर, धरान वा काठमाडौं धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।