ताप्लेजुङ गोल्डकप भदौ १२ देखि, आठ टोलीबिच प्रतिस्पर्धा हुने

बुधबार, ६ साउन, २०८३
डिजिटल संस्करण

लाखेजात्राको अवसरमा ताप्लेजुङमा आगामी भदौ १२ देखि १९ गतेसम्म ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ। प्रतियोगिता सदरमुकाम फुङलिङस्थित भानु जनमाध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुनेछ।

लाखेजात्रा सञ्चालक समितिको आयोजनामा हुने प्रतियोगितामा यस वर्ष आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्। हालसम्म गत वर्षको विजेता सहलेश युवा क्लब सिराहा, झापा– ११ फुटबल क्लब, सातदोबाटो युथ क्लब ललितपुर, चित्लाङ एफसी काठमाडौं, फिदिम स्पोर्टिङ क्लब पाँचथर र आयोजक टोलीको सहभागिता निश्चित भएको छ। बाँकी दुई टोलीको टुंगाे केही दिनभित्र लाग्ने आयोजक समितिका अध्यक्ष सागर मादेनले जानकारी दिए।

अध्यक्ष मादेनले प्रतियोगिताको तयारी सुरु भइसकेको जानकारी दिए। यस वर्ष सबै खेल हेर्न चाहने दर्शकका लागि रु. तीन हजारको प्याकेज टिकट बिक्री सुरु गरिएको छ। प्याकेज टिकट खरिद गर्ने दर्शकलाई प्यारापिटमा विशेष बस्ने व्यवस्था, केही अतिरिक्त सुविधा तथा भाग्यचिठ्ठा कार्यक्रममा सहभागी हुने अवसर दिइनेछ। अन्य टिकटको मूल्य पनि चाँडै सार्वजनिक गरिने अध्यक्ष मादेनले बताए।

दर्शकको सुविधाका लागि खेलमैदानमा बाँसको प्यारापिट निर्माण गरिनेछ। साथै, यस वर्ष पुरस्कार राशिसमेत बढाउने तयारी गरिएको आयोजकले जनाएको छ।  गत वर्षको प्रतियोगितामा विजेता टोलीले रु. सात लाख र उपविजेताले रु. तीन लाख ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए।

लाखेजात्रा पर्वको अवसरमा ०२९ सालदेखि कञ्चनजंघा, पाथीभरालगायत विभिन्न नामबाट सुरु भएको यो प्रतियोगिता अहिले ताप्लेजुङ गोल्डकपका नाममा सञ्चालन हुँदै आएको छ। पूर्वी पहाडकै चर्चित फुटबल प्रतियोगितामध्ये एक मानिने गोल्डकप हेर्न प्रत्येक वर्ष इलाम, पाँचथर, तेह्रथुम साथै संखुवासभालगायतका जिल्लाबाट पनि ठुलो संख्यामा फुटबलप्रेमी ताप्लेजुङ आउने गरेको आयोजककाे दाबी छ।
 

सुझावित समाचार