घर मानिसका लागि सबैभन्दा सुरक्षित आश्रयस्थल मानिन्छ। तर, बर्दियाका पछिल्ला तीन वर्षका तथ्यांकले भने त्यही घर र परिवारभित्र २७ महिला तथा बालिका यौन हिंसाको सिकार भइरहेको पीडादायी यथार्थ उजागर गरेका छन् ।
जिल्ला सरकारी वकिलको कार्यालयले आर्थिक वर्ष ०८०/८१ देखि ०८२/८३ सम्म तीन वर्षमा २७ जना परिवारका सदस्य र नजिकको आफन्तबाट पीडित भएको भन्दै २८ जनाविरुद्ध बर्दिया जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।
अदालतमा दर्ता भएको मुद्दामा १० वर्षमुनिका ६ जना नाबालिका, १० देखि १४ वर्षसम्मका ११ जना नाबालिका, १४ देखि १६ वर्षसम्मका पाँचजना नाबालिका, १६ देखि १८ वर्षसम्मकी एकजना बालिका र १८ वर्षभन्दा माथिका चारजना महिला पीडित भएको देखिन्छ । अदालत दर्ता भएका मुद्दामा १८ वर्षभन्दा मुनिका बालक चारजना र १८ वर्षभन्दा माथिका २४ जना आरोपित रहेको देखिन्छ । पीडित र आरोपितबिचको नातासम्बन्धको आधारमा हेर्दा १० जना बुबा, पाँचजना दाइ, चारजना काका, दुईजना हजुरबुबा, दुईजना जेठाजु, दुईजना भाइ, एकजना देवर, एकजना भतिज र एकजना फुपाजु रहेका छन् । तथ्यांकले अधिकांश यौन हिंसाका घटनामा परिवार र नजिकका आफन्तकै संलग्नता रहेको देखाउँछ।
बबई बहुमुखी क्याम्पसका समाजशास्त्रका उपप्रध्यापक प्रेमप्रसाद अधिकारीले नजिकको सम्बन्ध र पहुँच भएका व्यक्तिबाट यौन हिंसाको जोखिम बढी हुन्छ र यस्ता घटना
परिवारको इज्जत जाने डरले पनि बाहिर आउन नसक्ने बताए । उनले भने, ‘परिवारको आर्थिक अवस्था कमजोर भएर कमाउन वा अन्य कुनै कारणले परिवार एकसाथ नभएको परिवारमा यस्तो घटना हुने सम्भावना बढी हुन्छ । समाज पितृसत्तात्मक रहेको हुँदा परिवारभित्र घट्ने यस्ता घटना परिवारभित्र नै दबाइन्छ । यस्ता घटना दबाइएको परिवारभित्र पनि आन्तरिक कलह हुन्छ । बिस्तारै परिवारभित्र घृणा र विद्रोह सुरु भए पनि हुन्छ । जसले कहिलेकाहीँ परिवारभित्र दुर्घटना पनि निम्त्याउन सक्छ ।’
जिल्ला सरकारी वकिल कार्यालयले तीन वर्षमा बर्दिया जिल्ला अदालतमा हाडनाता करणीका अभियोगमा १७ मुद्दा दर्ता गरेको थियो । जसमध्ये अदालतले १३ वटा मुद्दामा कैद सजायको फैसला, दुईवटा मुद्दामा सफाइ, एउटा मुद्दामा आंशिक रूपमा अभियोग दाबी पुग्ने फैसला र एउटा मुद्दा मुल्तबीमा राखेको छ । त्यसैगरी जिल्ला सरकारी वकिल कार्यालयले जबर्जस्ती करणीका तीनवटा मुद्दा दर्ता गरेको थियो । जसमध्ये अदालतले तीनवटै मुद्दा कैद सजायको फैसला गरेको छ ।
सोही अवधिमा अदालतमा जबर्जस्ती करणी उद्योगको अभियोगमा तीनवटा मुद्दा दर्ता भए । जसमध्ये एउटा मुद्दामा कैद सजायको फैसला, एउटा मुद्दामा सफाइ र एउटा मुद्दामा आरोपितलाई पुर्पक्षका लागि थुनामा राख्ने अदालतले आदेश दिएको छ भने जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा बाल यौन दुरुपयोगको अभियोगमा पाँचवटा मुद्दा दर्ता गरेको थियो । जसमध्ये अदालतले दुईवटा मुद्दामा कैद सजायको र तीनवटा मुद्दामा सफाइ दिएको छ
बर्दिया जिल्ला अदालत बार एसाेसिएसनका पूर्वअध्यक्ष कमलप्रसाद पाण्डेले परिवारभित्र हुने हाडनाता करणी, बायौन दुरुपयोग, जबर्जस्ती करणी तथा जबर्जस्ती करणी उद्योगजस्ता मुद्दामा परिवारकै सदस्य वा आफन्तको संलग्नता देखिनु अत्यन्त चिन्ताजनक भएको बताए ।
उनले भने, ‘यस्ता घटनाले पारिवारिक विश्वास गुम्ने र परिवारमाथि नै आँच आउने हुनाले यस्ता घटना हुन नदिन जिम्मेवार निकायहरूले लाग्नुपर्ने हुन्छ । त्यसका लागि कानुनी शिक्षा प्रदान गर्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै पाठ्यपुस्तकमा पनि यस्ता विषयवस्तु समेट्नुपर्छ ।’
पाण्डेले समाजमा हुने यस्ताखाले घटना हुन नदिन कानुनी सचेतना जगाउन जरुरी रहेको र यस प्रकारका गम्भीर सामाजिक विकृतिका रूपमा रहेका यस्ता घटनालाई रोक्न सबैले पहल गर्नुपर्ने धारण व्यक्त गरे ।
अभिभावकको निगरानी कम भएको परिवार यस्ता घटनाको जोखिम बढी हुने गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले बताए । ‘घटना घटेको परिवारको अवस्था हेर्दा आर्थिक रूपमा कमजोर, शिक्षाको पहुँचमा कमी चेतनाको अभाव रहेको परिवारमा यस्ता घटना हुने गरेको देखिन्छ । कतिपय परिवारमा घटना भए पनि इज्जत जाने डरले पनि यस्ता घटना बाहिर आउन सक्दैनन् भने समाजले हेर्ने र गर्ने व्यवहारले पनि कानुनी प्रक्रियामा आउनेबाट डराउने अझै पनि रहेका छन् ।’ उनले भने, ‘यस्ता घटनामा पीडित पहिचान गोप्य राखिने हुँदा र प्रहरीप्रतिको विश्वासले पनि यस्ता घटना प्रहरीसम्म आउन थालेका छन् । प्रहरीले यस्ता खालका घटना हुने भएका घटनामा अनुसन्धान गर्नुका साथै समुदायस्तरमा पनि सचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।’
मनोविज्ञ तथा थेरापिस्ट डाक्टर विजय ज्ञवालीले यौन हिंसाको घटना कहिल्यै पनि पीडितको दोष नभएकाले पीडितलाई नै दोषी ठहर गर्ने वा दोषारोपण गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए।
पीडितलाई चिकित्सकीय उपचार, सहानुभूतिपूर्ण मनोसामाजिक सहयोग, कानुनी उपचार तथा सामुदायिक सेवामा पहुँच सुनिश्चित भएमा पीडित आघातबाट बिस्तारै बाहिर निस्कँदै जीवनलाई पुनः अर्थपूर्ण रूपमा अघि बढाउन सक्छन्। यौन हिंसापीडितलाई प्रदान गरिने सबै प्रकारका सेवा आघात–संवेदनशील र पीडितकेन्द्रित हुनुपर्ने धारणा मनोविज्ञ तथा थेरापिस्ट डाक्टर ज्ञवालीले व्यक्त गरे ।
उनले भने, ‘पीडितको सुरक्षा, गोपनीयता, सम्मान, आत्मनिर्णयको अधिकार र समग्र कल्याणलाई सर्वोच्च प्राथमिकतामा राख्दै न्यायमा सहज पहुँच सुनिश्चित गर्नुपर्छ । तर, कहिलेकाहीँ यस्ता घटना पर्दा महिला तथा बालिकामा तत्कालीन र दीर्घकालीन असर पर्न सक्छ। तत्कालीन असरको उपचार हुने भए पनि मनमा पर्ने दीर्घकालीन असर १०–१५ वर्षपछि देखिने सम्भावना हुन्छ । त्यसैले यौन हिंसामा परेका महिला तथा बालिकलाई राज्यको उपस्थिति उपचार हुनुपर्छ ।’
घर सुरक्षित आश्रयस्थल हुनुपर्ने हो। तर, पछिल्ला तीन वर्षका तथ्यांकले बर्दियामा परिवार र आफन्तकै घेराभित्र महिला तथा बालिका असुरक्षित रहेको यथार्थ देखाएको छ। विज्ञहरू कानुनी कारबाहीसँगै परिवार, विद्यालय, समुदाय र राज्य सबै तहबाट सचेतना, संरक्षण र पीडितमैत्री सेवाको विस्तार आवश्यक धारणा व्यक्त गर्छन् ।