बर्दियामा करेन्ट लागेर पाँच वर्षमा ४५ जनाले ज्यान गुमाएका छन् । जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रको तथ्यांकअनुसार पाँच वर्षमा करेन्ट लागेर ४५ जनाले ज्यान गुमाएका हुन् । बर्दियामा करेन्ट लागेर गत आर्थिक वर्ष २०८२/०८३ मा ६ जनाको मृत्यु, आठजना घाइते भए त्यसैगरी आर्थिक वर्ष ०८१/८२ मा १० जनाको मृत्यु, १७ जना घाइते भए भने आर्थिक वर्ष ०८०/०८१ मा नाैजनाको मृत्यु, सातजना घाइते भए भएका छन् । करेन्ट लागेर आर्थिक वर्ष ०७९/८० मा १२ जनाको मृत्यु, दुईजना घाइते भए भने आर्थिक वर्ष ०७८/७९ मा करेन्ट लागेर आठजनाको मृत्यु, एकजना घाइते भएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका सम्पर्क व्यक्ति प्रमुख प्रशासकीय अधिकृत लोकराज ढकालले जानकारी दिए ।
विद्युत् दुर्घटना क्षतिपूर्ति विनियमावलीमा २०६७ ले विद्युत् संरचनामा प्राविधिकद्वारा निर्धारित विद्युत् सुरक्षा व्यवस्था नअपनाइएको, प्राविधिकद्वारा निर्धारित विद्युत् सुरक्षा व्यवस्थाअनुसार विद्युत् संरचनाको आवश्यक मर्मतसम्भार नगरिएको र प्राधिकरणको कारणबाट कुनै प्रकारको प्राविधिक त्रुटि हुन गई दुर्घटना हुन गएको ठहर भएमा पीडित पक्षलाई पुग्न गएको हानिनोक्सानीबापत क्षतिपूर्ति दिइने व्यवस्था रहेको छ । तर, व्यक्तिगत लापरबाही हुने मृत्युमा भने विद्युत् कुनै क्षतिपुर्ती दिदैँन ।
नेपाल विद्युत् प्राधिकरण वितरण शाखा गुलरियाका प्रशासन प्रमुख तथा सूचना अधिकारी महेन्द्र पुनमगरले करेन्टबाट हुने जनधनको क्षति न्यूनीकरणका लागि शाखाले जिल्लाका विभिन्न विद्यालयमा पुगेर करिब एक हजार दुई सय विद्यार्थीलाई विद्युत् सुरक्षासम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको जानकारी दिए ।
उनले भने, ‘लागेर हुने दुर्घटना रोकथामका लागि सरोकारवाला निकायसँगै प्रत्येक नागरिक सचेत हुन आवश्यक छ। बिजुलीको तार भुइँमा झरेको देखिएमा तत्काल नजिकको विद्युत् कार्यालयमा खबर गर्ने, घर तथा उद्योगमा अनिवार्य अर्थिङ गर्न, प्रयोगमा नरहेका विद्युतीय उपकरणको निकालेर राख्न, चट्याङ र आकाश गर्जिरहेको समयमा विद्युतीय उपकरण प्रयोग नगर्न तथा रूख वा हाँगामा बिजुलीको तार छोएमा तुरुन्त विद्युत् कार्यालयलाई खबर गर्नुपर्छ ।’
खाली खुट्टा वा चिसो हातले स्विच तथा विद्युतीय उपकरण नछुन, गुणस्तरीय वायरिङ र उपयुक्त क्षमताको सुरक्षा उपकरण प्रयोग गर्न, पावर सकेट बालबालिकाले नपुग्ने स्थानमा राख्न, बिजुलीका तारमुनि हिँडडुल नगर्न र घरमाथिबाट विद्युत् लाइन नलैजान प्रशासन प्रमुख तथा सूचना अधिकारी मगरले आग्रह गरे । मोबाइल चार्जमा लगाएका वेला मोबाइल प्रयोग नगर्न, बिजुलीको पोलमा नचढ्न वा घरपालुवा जनावर नबाँध्न तथा ट्रान्सफर्मरमुनि वा वरपर तरकारी बेच्ने, मकै पोल्ने, जुत्ता सिलाउनेलगायतका गतिविधि नगर्न सुझावसमेत दिए ।