आइसिसी विश्वकप लिग २ मा नेपाली राष्ट्रिय पुरुष टोली मंगलबार नामिबियासँग आठ विकेटले पराजित भएको छ । लिग २ अन्तर्गत ११५औँ खेलमा नेपालले नेदरल्यान्ड्सको उट्रेच मैदानमा पहिलो ब्याटिङ गरेको थियो । ५० ओभर ब्याटिङ गर्न नसकेको नेपाल ४६.५ ओभरमा १५७ रनको झिनो योगफलमा अलआउट भयो । प्रत्युत्तरमा नामिबियाले ३७.४ ओभरमा दुई विकेट गुमाएर १६० रन जोड्दै सानदार जित निकाल्यो ।
नामिबियाले खेल सकिनु ७४ बलअघि प्राप्त सफलता हात पारेको हो । जितसँगै नामिबियाले अंकतालिकामा नेपालसँग बराबरी गरेको छ । उसले रनरेटमा पनि सुधार गरेको छ । हारका बाबजुद नेपाल २४ अंकका साथ पाँचौँ स्थानमै छ । नामिबिया २४ अंक जोडेर सातौँ स्थानमा झरेको छ । नामिबिया र नेपालले समान २९ खेलमा ११ जित र १६ हारको सामना गरेको छ । रनरेटमा राम्रो भएको क्यानडा छैटौँमा उक्लियो । उसको २४ अंक छ ।
क्यानडाले नामिबिया र नेपालभन्दा एक खेल कम खेलेको छ । शीर्ष स्थानमा अमेरिकाले ४३ अंक बटुलेर एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको ग्लोबल स्थान सुरक्षित गरिसक्यो । दोस्रो स्थानमा रहेको स्कटल्यान्डले ३२ खेलमा ३८ अंक जोडेको छ । नेदरल्यान्ड्सले ३२ खेलमा १४ जितका साथ ३२ अंक हात पारेको छ ।
दुई महिनाअघि त्रिवि क्रिकेट मैदानमा नेपालले विश्वकप लिग २ अन्तर्गत दुई सिरिज आयोजना गरेको थियो । जसमा नेपालले १६ मध्ये १२ अंक बटुलेर अंकतालिकामा सुधार गरेको थियो । दुई महिनापछि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किएको नेपालले नामिबियाविरुद्ध ब्याटिङ र बलिङमा फितलो प्रदर्शन गर्यो ।
नेपालविरुद्ध स्मिटको घातक बलिङ
नेपालको ब्याटिङ धराशयी हुनु पछाडि नामिबियाका बायाँहाते फास्ट बलर जोन्सन जोनाथन स्मिटले घातक बलिङ गरेका थिए । खेलका म्यान अफ दी म्याचसमेत भएका स्मिटले ९.५ ओभरमा एक मेडन राखी २७ रन खर्चेर सर्वाधिक ६ विकेट लिएका थिए । उनले आफ्नो करिअरमा उत्कृष्ट बलिङ स्पेल नेपालविरुद्ध गरेका हुन् । स्मिटले इनिङ्सको ०.२ ओभरमा ओपनर कुशल भुर्तेलको विकेट लिएका थिए ।
उनले ईशान पाण्डे, सोमपाल कामी, गुल्सन झा, करण केसी तथा नन्दन यादवको विकेट लिँदा नेपालले विदेशी भूमिमा कमजोर ब्याटिङ प्रदर्शन गर्यो । स्मिटले इनिङ्सको ४६.३ र ४६.५ ओभरमा दुई विकेट लिएका थिए । उनले नेपालका अन्तिम विकेटका रूपमा यादवलाई आउट पारेका थिए । उनले ६ मध्ये दुई विकेट बोल्डका रूपमा लिए । स्मिटले नेपालका चार खेलाडीलाई क्याच आउट पारेका थिए ।
कप्तान र उपकप्तानको अर्धशतकीय साझेदारी
नेपालले पहिलो तीन विकेट गुमाउँदा स्कोर बोर्डमा ४० रन जोडेको थियो । इनिङ्सको १५.२ ओभरमा आसिफ सेखलाई गुमाएको थियो । त्यसपछि कप्तान रोहितकुमार पौडेल र उपकप्तान दीपेन्द्रसिंह ऐरी चौथो विकेटका लागि गतिलो साझेदारी गरेका थिए । दुवैले चौथो विकेटका लागि ८९ बलमा ५३ रनको साझेदारी गर्दै नेपाललाई ३०.१ ओभरमा ९३–४ को स्थितिमा राखे । दुवैले प्रतिओभरमा दुई रनरेटभन्दा माथि ब्याटिङ गरेका थिए ।
क्रिजमा सेट हुन लाग्दा उपकप्तान दीपेन्द्रसिंहले आफ्नो विकेट स्कोल्ट्जलाई दिए । उनले ५१ बलको सामना गरी दुई चौकाको सहयोगमा ३० रन जोडे । रोहितले आफ्नो विकेट ३३.१ ओभरमा गुमाए । उनी ब्रासेलको ओभरमा आउट भएका हुन् । उनी विकेटपछाडि ग्रिनबाट क्याचआउट भए । रोहितले ६० बलमा ३१ रन जोडे । उनले आफ्नो इनिङ्समा कुनै बाउन्ड्री लगाएनन् । रोहितले क्रिज छाड्दा नेपाल ९९–६ को नाजुक स्थितिमा रहेको थियो ।
पुछारका खेलाडीले सम्हाले
शीर्ष तथा मध्यक्रमका खेलाडीले गतिलो योगदान दिन नसकेको क्रिजमा भने गुल्सन, सोमपाल र करणले सुदृढ ब्याटिङ गरेका थिए । गुल्सनले १८ बलमा २० रन बनाउन समान एक चौका र छक्का प्रहार गरेका थिए । सोमपालले ३० बलमा एक चौकाको सहयोगमा १५ रन बनाए । करण केसीले १५ बलमा समान एक चौका र छक्का प्रहार गरी १८ रन बटुले । नेपालको ब्याटिङमा गुल्सन र करणले मात्र छक्का प्रहार गरेका थिए । सोमपाल र गुल्सनबिच ५० बलमा ३२ रनको साझेदारी भएको थियो । यसैगरी, करण र नन्दनबिच नवौँ विकेटका लागि १७ बलमा १६ रनको साझेदारी भएको थियो ।
नामिबियाको इनिङ दुई बलियो साझेदारी
सहज लक्ष्य पछ्याएको नामिबियाको ब्याटिङमा दुईवटा बलियो साझेदारी भएको थियो । उसका लागि फयालिंक र भान लिंगेनले दोस्रो किवेटका लागि १२० बलमा ८७ रनको साझेदारी भएको थियो । फयालिंक र लोफटिए इर्टनले तेस्रो विकेटका लागि अविजित ६७ बलमा ५२ रनको साझेदारी गर्दै टोलीलाई सानदार जित दिलाए ।
ओनपर माइकल भान लिंगेनले ७९ बलमा चार चौकाको सहयोगमा ५१ रन बनाए । फयालिंकले ८९ बलमा आठ चौका र एक छक्का प्रहार गरी ७८ रन जोडेका थिए । इटोनले ३९ बलमा १७ रन बनाए । नेपालबाट १२ अतिरिक्त रन दिएको थियो । बलिङमा कप्तान रोहितले सात बलर प्रयोग गरे । नन्दनले तीन ओभरमा १७ रन खर्चेर एक विकेट लिए । रोहितले ५.४ ओभरमा २१ रन खर्चेर एक विकेट हात पारे ।