ठेक्का दिलाएबापत श्रीमतीको नाममा लिएका थिए पौने दुई करोडको जग्गा

बुधबार, ६ साउन, २०८३
डिजिटल संस्करण

नागरिक उड्डयनका पूर्वमहानिर्देशक अधिकारीविरुद्ध छैटौँ मुद्दा दायर

ठेक्कामा सहजीकरण गरिदिएबापत ठेकेदारसँग एक करोड ७१ लाख रुपैयाँ घुस लिएको अभियोगमा नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीविरुद्ध घुस र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ । हाल पुर्पक्षका लागि थुनामा रहेका अधिकारीविरुद्ध यसअघि नै पाँच मुद्दा दायर भइसकेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार अधिकारीविरुद्ध मुद्दा दायर गरेको हो । उनले श्रीमतीको नाममा ललितपुरमा ११ आना जग्गा घुसबापत लिएको अख्तियारले पत्ता लगाएको छ । घुस लुकाउने, रूपान्तरण र हस्तान्तरणको कामसमेत गरेको भन्दै आयोगले सम्पत्ति शुद्धीकरणको मुद्दा पनि दायर गरेको हो ।

 गायत्री निर्माण  सेवालाई नागरिक उड्डयन प्राधिकरणअन्तर्गतका विभिन्न ठेक्काहरू दिलाएका थिए । त्यसबापत ठेकेदार प्रेमप्रकाश ढकालसँग एक करोड ७१ लाख घुस लिएका थिए । सो रकमले ललितपुरमा श्रीमतीको नाममा जग्गा खरिद गरेको अख्तियारले जनाएको छ ।

अख्तियारका अनुसार अधिकारीले गायत्री निर्माण सेवालाई नागरिक उड्डयन प्राधिकरणअन्तर्गतका विभिन्न ठेक्काहरू दिलाएका थिए । त्यसबापत ठेकदार प्रेमप्रकाश ढकालसँग एक करोड ७१ लाख घुस लिएका थिए । सो रकमले ललितपुरमा श्रीमतीको नाममा जग्गा खरिद गरेको अख्तियारले जनाएको छ । ९१ लाख थैली राखेर जग्गा पास गरिएको थियो । ९१ लाख अधिकारी र श्रीमतीकै खाताबाट जग्गा बिक्रेतालाई दिए पनि स्वाभाविक देखाउने कलुषित मनसाय राखेर खरिद–बिक्री गरिएको आयोगको दाबी छ । सो जग्गाको सबै पैसा ठेकदारले नै भुक्तानी गरेको आरोपपत्रमा उल्लेख छ । यसरी खरिद गरिएको जग्गासमेत जफतको माग पनि अख्तियारले गरेको छ ।

यसअघि नै अधिकारीविरुद्ध पोखरा विमानस्थलको निर्माणसम्बन्धी तीनवटा र भक्तपुरको हेलिपोर्ट निर्माणमा अनियमिततासम्बन्धी एउटा मुद्दा विशेष अदालतमा विचाराधीन छन् । त्यस्तै, अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईलाई आपराधिक समूह प्रयोग गरी मार्ने धम्की दिएको र त्यसका लागि दुई करोड रुपैयाँ फिरौती दिएको विषयमा पनि प्रहरीमार्फत मुद्दा दायर भएको थियो । अकुत सम्पत्ति आर्जनलगायतका विषयमा अख्तियारले उनीविरुद्ध थप अनुसन्धान जारी राखेको छ । 

सुझावित समाचार