आइसिसी विश्वकप लिग २ अन्तर्गत नामिबियासँगको खेलमा नेपालले कमजोर प्रदर्शन गरेको छ। नेदरल्याड्समा भएको खेलमा नामिबियाले नेपाललाई ८ विकेटले पराजित गर्यो । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले १५८ रनको लक्ष्य दिएको थियो। लक्ष्य पछ्याउने क्रममा २ विकेट गुमाएर ३७.४ ओभरमै नामिबियाले सहज जित निकालेको छ।
नेपालका लागि ब्याटिङतर्फ कप्तान रोहित पौडेलले ३१, दीपेन्द्रसिंह ऐरीले ३० तथा गुल्सन झाले २० रनको योगदान दिए। सुरुवातदेखि नै कमजोर देखिएको नेपाल ४६.५ ओभरमै अलआउट बनेको थियो।
बलिङतर्फ नन्दन यादव र रोहित पौडेलले १–१ विकेट लिए।
यो हारले विश्वकप ग्लोबल छनोटमा स्थान बनाउने लक्ष्यमा धक्का लागेको छ। २९ खेल खेलेको नेपाल लिगको पाँचौँ स्थानमा छ । नेपालका अब सात खेल बाँकी छन् । ती सबै खेल जितेर मात्र पनि पुग्दैन, स्कटल्यान्ड, नेदरल्यान्ड्स र ओमानको नतिजाअनुसार नेपालको ग्लोबल छनोटको स्थान छिनोफानो हुनेछ।
अमेरिकाले चार खेल खेल्न बाँकी रहँदै ग्लोबल छनोटमा स्थान बनाइसकेको छ । अब नेपालसँगै क्यानडा, स्कटल्यान्ड, नामिबिया, नेदरल्यान्ड्स र ओमानबिच बाँकी स्थानका लागि प्रतिस्पर्धा छ ।
स्कटल्यान्ड ३२ खेलमा ३८ अंकका साथ छनोटनजिक छ । नेदरल्यान्ड्स २८ खेलमा ३२ अंकका साथ तेस्रो स्थानमा छ । ओमान २८ खेलमा ३१ अंकका साथ चौथो र २४ अंकको नेपाल पाँचौँ स्थानमा छ । मंगलबार नेपालमाथिको जितसँगै नामिबिया छैटौँ स्थानमा उक्लिएको छ । उसको पनि २९ खेलमा नेपालको जस्तै समान २४ अंक छ। क्यानडाको २८ खेलमा २४ अंक छ । युएई भने १४ अंकसहित ग्लोबल छनोट बाहिरिसकेको छ।
नेदरल्याड्स र नामिबियासँगको सिरिजको पनि नेपालले खराब सुरुवात गरेकाले सम्भावना कमजोर बनेको छ । नेपालको अर्काे खेल बिहीबार नेदरल्याड्सविरुद्ध छ।
अंकतालिका-
