जिल्लामा हुन सक्ने सम्भावित प्राकृतिक विपत् तथा दुर्घटनाको तत्काल र प्रभावकारी प्रतिकार्यका लागि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जिल्लास्थित तीनवटै सुरक्षा निकाय तथा कारागार कार्यालयलाई आवश्यक विपत् उद्धार सामग्री आज मंगलबार हस्तान्तरण गरेको बताएको छ ।
जिल्ला प्रशासन कार्यालयमा आयोजित एक संक्षिप्त कार्यक्रमबिच प्रमुख जिल्ला अधिकारी (प्रजिअ) जनार्दन गौतम र सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले ती सामग्री सुरक्षा निकायका प्रमुखहरूलाई संयुक्त रूपमा हस्तान्तरण गरेका हुन् ।
सुरक्षा निकायअनुसार वितरण गरिएका उक्त सामग्रीहरू नेपाल प्रहरीलाई फायर एक्स्टिङइसर १० थान अग्निनियन्त्रक यन्त्र २० थान, चेन दुई थान र भर्याङ एक थान र सशस्त्र प्रहरी बल नेपाललाई फायर एक्स्टिङइसर १० थान, चेन एक थान, भर्याङ एक थान, स्विमिङ ट्युब १० थान र फायर बल दुई थान नेपाली सेनालाई फायर एक्स्टिङइसर १० थान र चेन एक थान जिल्ला कारागार कार्यालयका लागि फायर एक्स्टिङइसर १० थान हस्तान्तरण गरिएको बताएको छ ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्ट र सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारीलगायत अन्य सुरक्षा अधिकारीहरूको उपस्थिति रहेको थियो । सामग्री हस्तान्तरण गर्दै प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले विपतकाे पूर्वतयारी र द्रुत प्रतिकार्यले नै सम्भावित ठुलो धनजनको क्षति न्यूनीकरण गर्न सकिने बताएका छन् ।
विपत् बाजा बजाएर आउँदैन यस्तो अवस्थामा उद्धारकर्ता आफैँ सुरक्षित रहँदै द्रुत गतिमा उद्धार कार्यमा खटिनका लागि आवश्यक भौतिक स्रोत साधन अति अनिवार्य हुन्छ । हस्तान्तरण गरिएका यी सामग्रीहरूले हाम्रा सुरक्षा निकायको कार्यक्षमता अभिवृद्धि गर्नुका साथै विपतका वेला सर्वसाधारणको धनजनको रक्षा गर्न महत्त्वपूर्ण भूमिका खेल्ने जनार्दन गौतमले बताएका छन् । जिल्ला प्रशासन कार्यालयले आगामी दिनहरूमा पनि जिल्ला सुरक्षा समितिबाट विपत् व्यवस्थापन र सुरक्षा निकायहरूको क्षमता विकासका लागि समन्वयकारी भूमिका खेल्दै जाने सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले बताएका छन् ।