पूर्व–पश्चिम राजमार्गको पूर्वीखण्डको काम समयमै नसकिने निश्चित

मंगलबार, ५ साउन, २०८३
डिजिटल संस्करण
पूर्व–पश्चिम राजमार्गको पूर्वीखण्डको काम समयमै नसकिने निश्चित

निर्माणाधीन पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको कमल गाउँपालिकास्थित पाडाजुँगी ।

  • काँकडभिट्टादेखि सुनसरीको लबिपुरसम्मको ९५ किलोमिटर सडक र ठुला पुल निर्माणका प्याकेज तीन वर्षमा सक्न लगाइएको ठेक्काको म्याद १९ माघ ०८३ मा सकिँदै छ । तर, कुनै पनि प्याकेजको काम ५० प्रतिशत पनि पुग्न सकेको छैन ।

ठेक्काको म्याद सकिन ६ महिना मात्रै बाँकी हुँदा पूर्व–पश्चिम राजमार्गको पूर्वीखण्डको काम आधा पनि सकिएको छैन । झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्मको खण्डमा निर्माण कम्पनीको ढिलासुस्तीका कारण सडक विस्तारमा ढिलाइ भएसँगै समयमा नसकिने निश्चित भएजस्तै हो, जसका कारण नागरिकले सास्ती व्यहोर्नुपरेको छ ।

पूर्वी र पश्चिमी गरी दुई खण्डमा विभाजन गरिएको ठेक्काको काम सुस्त गतिमा भइरहेको छ । पूर्वी र पश्चिमी खण्डको ९५ किलोमिटरको सडक र यसमा पर्ने ठुला पुललाई विभिन्न प्याकेज बनाएर काम गरिँदै आएको छ । तर, कुनै पनि प्याकेजको काम ५० प्रतिशत पनि पुग्न सकेको छैन । यी सबै प्याकेज तीन वर्षमा सक्ने गरी ठेक्का लगाइएको सडक विस्तार गर्ने ठेक्काको म्याद १९ माघ ०८३ सकिन्छ ।

एसियाली विकास बैंकको तीन सय मिलियन डलर ऋण सहायता र नेपालको लगानीमा चार लेनमा विस्तार हुँदै गरेको काँकडभिट्टा–लौकही सडकलाई दुई खण्डमा विभाजन गरेर काम भइरहेको छ । काँकडभिट्टदेखि लौकहीसम्मको एक सय २० किलोमिटर सडक ठेक्कामा लगाउने योजना भए पनि सुनसरीको लबिपुरसम्मको ९५ किलोमिटर मात्रै ठेक्का लागेको छ ।

९५ किलोमिटर सडक विस्तार र यसमा पर्ने पुल निर्माणका लागि २ कात्तिक ०८० मा ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार सम्पन्न मिति भने १९ माघ ०८३ छ । ठेक्का २ कात्तिक ०८० मा लागेको भए पनि सम्झौता मितिले काम माघदेखि सुरु भएको हो । ९५ किलोमिटर सडकमा ६ वटा ठुला नदीका पुल पर्छन् । 

पूर्वीखण्ड अर्थात् झापा काँककभिट्टादेखि झापाकै कमल गाउँपालिकास्थित केर्खासम्मको ४५ किलोमिटर सडक पर्छ । यो खण्डमा ३० महिनामा सडकको काम जम्मा ४७ प्रतिशत मात्रै भएको काँकडभिट्टा–लौकही सडक योजना कार्यालय (पूर्वीखण्ड)का प्रमुख सुनीलबाबु पन्तले जानकारी दिए । यो काम अपेक्षकृत होइन । काँकडभिट्टादेखि कमल गाउँपालिकास्थित सीतापुरीसम्मको ४५ किलोमिटर सडक निर्माणको ठेक्का भने १० अर्ब ६ करोडमा एभरसकोन–कालिका जेभीले ठेक्का लिएको हो । यस्तै, पुल निर्माणको काम भने जम्मा २९ प्रतिशतमा सीमित रहेको उनी बताउँछन् । यो खण्डमा कन्काई, निन्दा र बिरिङ नदीको पुल पर्छ ।

यी तीन पुल निर्माणका लागि कोभेक–सिआरइजिसी–टुन्डी जेभीले पाँच अर्ब ९७ करोडमा ठेक्का लिएका छन् । यही गतिले निर्धारित म्यादमा काम सकिने सम्भावना नरहेको उनी बताउँछन् । आउँदो वर्षको असार मसान्तसम्म कम्तीमा ९० प्रतिशत काम सम्पन्न गर्ने गरी अघि बढेको प्रमुख पन्तको भनाइ छ । यो बर्खाको समयमा पनि गर्न मिल्ने काम निरन्तर भइरहेको उनले बताए । पन्तका अनुसार सडकमा पाँचम सिएमका दुई तहको कालोपत्रे हुन्छ । यो खण्डमा करिब १७ किलोमिटर पहिलो तहको कालोपत्रे सकिएको छ । समय अवधिभरिमा ४५ किलोमिटरमै पहिलो तहको कालोपत्रे सक्ने गरी अघि बढ्ने योजना रहेको उनी बताउँछन् । जसले गर्दा सर्वसाधारणलाई यात्रामा सहज हुने उनको भनाइ छ । 

यो खण्डमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि र बिटुमिन अभावमा पनि काम भएको थियो । तर, काम भने सुस्त हुँदा निर्धारित समयमा काम नसकिने भएको हो । ‘समयको हिसाबले ८० प्रतिशत सकियो । तर, काम ४७ प्रतिशत छ । यो वेलासम्म ६० प्रतिशत काम सकिनुपर्ने हो । काम नसकिनुमा विविध कारण छन्,’ पन्तले भने, ‘निर्माण सामग्री पर्याप्त नहुनु, दक्ष कामदारको अभाव, समयमा बिजुलीका पोललगायत साइट क्लियर नहुनु, निर्माण कम्पनीको व्यवस्थापनको कुरा पनि राम्रो नहुँदा ढिला हुन्छ । आन्तरिक र बाह्य व्यवस्थापनको पक्ष कमजोर हुँदा ढिला भयो । पुलको हकमा स्टिलका पार्टस् आउन ढिला भयो ।’

यस्तै, सीतापुरीदेखि पश्चिम सुनसरीको लबिपुरसम्मको ५० दशमलव ७६ किलोमिटर सडक विस्तारका लागि पनि सडकतर्फ दुईवटा प्याकेज बनाएर ठेक्का लगाइएको छ । केर्खादेखि पश्चिम मोरङको गोठगाउँसम्मको ४० किलोमिटर सडक सिआरएफजी–टुन्डी जेभीले नौ अर्ब १३ करोडमा ठेक्का लिएको छ । गोठगाउँदेखि लबिपुरसम्मको १० दशमलव ७६ किलोमिटर कोभेक–सिआरइजिसी–टुन्डी जेभीले चार अर्ब सात करोडमा निर्माणका लागि ठेक्का लिएको छ । यो खण्डमा केर्खादेखि पश्चिम मोरङको गोठगाउँसम्मको ४० किलोमिटर खण्डको काम ४३ प्रतिशत सम्पन्न भएको काँकडभिट्टा–लौकही सडक योजना (पश्चिम खण्ड)का प्रमुख जगत प्रजापतिले जानकारी दिए । यद्यपि, ३० महिनामा यो काम पनि सुस्त हो । गोठगाउँदेखि लबिपुरसम्मको १० दशमलव ७६ किलोमिटरको काम झनै अत्यधिक सुस्त छ । ठेक्का लागेको ३० महिनामा २४ प्रतिशत मात्रै काम भएको प्रमुख प्रजापतिले जानकारी दिए । 

यस्तै, पश्चिम खण्डमा ठुलाका तीन पुल रतुवा, बक्राह र लोहेन्द्र नदीमा पुल निर्माण भइरहेको छ । यो पुल निर्माणका लागि कोभेक–सिआरइजिसी–टुन्डी जेभीले पाँच अर्ब ६५ करोडमा ठेक्का लिएको छ । यसको काम ४२ प्रतिशत मात्रै सम्पन्न भएको उनले बताए । बिजुलीको पोल समयमा सार्न नसक्दा, मूल्यवृद्धि, बिटुमिन अभावले काममा प्रभाव पारेको उनले बताए । ‘बिजुलीको पोल समयमा नसारिँदा पनि समस्या भएको छ । ऊर्जा मन्त्रालयसँग पनि समन्वय भएको थियो । तर, काम अघि बढेन । बिटुमिन र मूल्यवृद्धिलगायत कारणले पनि काम ढिला भयो । निर्माण व्यवसायीले पनि ढिलासुस्ती गरे,’ उनले भने, ‘अहिले बर्खाको समय छ । काम सोचेअनुरूप हुँदैन । लगत्तै चाडपर्व आउँछन् । तसर्थ, निर्धारित समयमा काम सकिने सम्भावना कम छ ।’ 

सुझावित समाचार