पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा श्रीलंकाका पूर्वक्रिकेटर अजन्था मेन्डिस

सोमबार, ४ साउन, २०८३
डिजिटल संस्करण

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को लागि पोखरा एभेन्जर्सले मुख्य प्रशिक्षक नियुक्त गरेको छ। पोखराले तेस्रो संस्करणका लागि श्रीलंकाका पूर्वअन्तर्राष्ट्रिय क्रिकेटर अजन्था विन्स्लो मेन्डिस बलापुवाडुगेलाई मुख्य प्रशिक्षक नियुक्त गरेको टोलीका महाप्रबन्धक अमित लोहनीले जानकारी दिए।

आगामी संस्करणका लागि क्रिकेट संरचनालाई थप सुदृढ बनाउँदै बलियो तथा प्रतिस्पर्धात्मक टोली निर्माण गर्ने लक्ष्यका साथ गरिएको यस नियुक्ति टोलीका लागि एक महत्वपूर्ण उपलब्धिका रुपमा लिएको उनले बताए।

मुख्य प्रशिक्षकमा नियुक्त गरेको सम्बन्धमा पोखराले जारी गरेको विज्ञप्तीमा श्रीलंकाका सर्वाधिक सफल स्पिन बलरहरुमध्ये एक मानिने बलापुवाडुगेले अन्तर्राष्ट्रिय स्तरको समृद्ध अनुभव, उत्कृष्ट रणनीतिक दक्षता तथा विजयी मानसिकता लिएर आएका उल्लेख छ। आफ्नो गौरवपूर्ण अन्तर्राष्ट्रिय क्रिकेट यात्राका क्रममा उनले श्रीलंकाको राष्ट्रिय टोलीबाट क्रिकेटका तीनवटै प्रारुपमा प्रतिनिधित्व गरेका छन्।

आफ्नो बलिङ शैली, उत्कृष्ट नियन्त्रण क्षमता र विश्वका उत्कृष्ट ब्याटरहरुलाई समेत कठिन चुनौती दिने क्षमताका कारण अन्तर्राष्ट्रिय क्रिकेटमा विशिष्ट पहिचान स्थापित गरेका उनले श्रीलंकालाई सन् २००८ को एसिया कपको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए। ‘प्लेयर अफ द टुर्नामेन्ट’समेत घोषित भएका उनीसँग रहेको अनुभव, ज्ञान र खेलप्रतिको दृष्टिकोणले पोखराका खेलाडीहरुलाई मैदानभित्र तथा मैदानबाहिर दुवै क्षेत्रमा महत्वपूर्ण मार्गदर्शन प्रदान गर्ने विश्वास पोखराको छ।

मुख्य प्रशिक्षक नियुक्त बलापुवाडुगेले पोखरासँग आबद्ध भएर परिवारको हिस्सा बन्न पाउँदा आफू गौरवान्वित भएको बताउँदै खेलाडी, प्रशिक्षक टोली तथा व्यवस्थापनसँग नजिकबाट सहकार्य गर्दै उत्कृष्ट टोली निर्माण गर्न आफू उत्साहित रहेको बताए।

सुझावित समाचार