छात्रामाथि यौन हिंसा गरेकाे आरोपमा तीनजना शिक्षक प्रहरी नियन्त्रणमा, संयमता अपनाउन प्रहरी र विद्यार्थीको आग्रह

सोमबार, ४ साउन, २०८३
डिजिटल संस्करण

छात्राहरूमाथि यौन हिंसा गरेको आरोपमा  मोरङको सुन्दरहरैँचा नगरपालिका– १० स्थित सुकुना माध्यमिक विद्यालका  तीनजना शिक्षकलाई  प्रहरीले नियन्त्रणमा लिएको छ । 
विद्यालयमा कानुन अध्ययन गर्ने छात्राहरूलाई  शिक्षकहरूले विभिन्न सामाजिक सञ्जाल र भौतिक रूपमा  यौन हिंसा गरेको खुलासा भएपछि प्रहरीले अनुसन्धानका लागि तीनजना शिक्षकलाई नियन्त्रणमा लिएको हो । 

मोरङ प्रहरीका अनुसार घटनामा संलग्न रहेको आरोपमा  शिक्षकहरू सुन्दरहरैँचा नगरपालिका– १० का ४० वर्षीय प्रदीप भट्टराई, वडा नं. २ का ३० वर्षीय किशोरलाल गच्छदार र वडा नं. १२ का ३५ वर्षीय अविलाल मास्के रहेका छन् । उनीहरूलाई ४ साउन बिहान १० बजे इलाका प्रहरी बेलबारीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको मोरङ प्रहरी प्रवक्ता मकेन्द्रकुमार मिश्रले बताए ।  

विद्यालयका छात्राहरूलाई शिक्षकले यौन हिंसा गरेको खुलेपछि  शिक्षकविरुद्ध कारबाही माग गर्दै विद्यार्थीले प्रदर्शन गर्ने तयारी थालेका थिए । घटनालाई भड्कन नदिन प्रहरीले सोमबार बिहान आरोपी शिक्षकहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले जनाएको छ । 

विद्यालयमा पढाउने शिक्षकहरूले नै छात्राहरूलाई सामाजिक सञ्जालमार्फत यौनजन्य सन्देश पठाउने र भौतिक रूपमा पनि जाँदा–आउँदा बाटो छेकेर हात समाएर यौन प्रस्तावहरू राख्ने गरेको विद्यार्थीहरूको आरोप छ । घटना बाहिर आएपछि सुकुना विद्यालयका विद्यार्थीले सामाजिक सञ्जालमा पीडित छात्रा र शिक्षकहरूको फोटो भिडियो पनि सार्वजनिक गरेका थिए।    
यो घटनासँगै जिल्ला प्रहरी कार्यालय मोरङले अनुसन्धान जारी रहेकाले सामाजिक सञ्जालमा नियन्त्रणमा लिइएका शिक्षक र पीडित छात्राहरूबारे हतारमा आधारहीन टिप्पणी, अफवाह वा भ्रम फैलाउने गतिविधि नगर्न–नगराउन सबैसँग आग्रह पनि गरेको छ । मोरङ प्रहरी प्रवक्ता डिएसपी मिश्रले भने, ‘आधारहीन टिप्पणी र अफवाहले प्रहरीको अनुसन्धानमा बाधा पुग्छ भने संलग्न व्यक्तिहरू पनि झन् पीडित हुन पुग्छन्,  दोषी ठहर भएमा कानुनअनुसार कारबाही हुनेछ  ।’ 

घटनाबारे सुकुना माविका कानुन अध्यनरत विद्यार्थीहरूले पनि यौन दुर्व्यवहार गरेको आरोप लागेका शिक्षकहरूलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालिसकेकोले संयमित भएर अनुसन्धानमा सहयोग गर्न अपिल गरेका छन् । विद्यालयका कानुन अध्ययनरत विद्यार्थीहरुले भनेका छन्,  ‘आक्रोश र आवेगमा गरिएको आन्दोलनले मात्र न्याय सुनिश्चित गर्दैन। दोषीलाई  कानुनी सजाय दिलाउन विद्यालयको शैक्षिक वातावरण पनि सुरक्षित हुनुपर्छ । यसैले पीडितलाई न्याय र दोषीलाई कारबाहीको दायरामा ल्याउन कानुनी प्रक्रियाअनुसार प्रहरीलाई अनुसन्धानमा सहयोग गर्नुपर्छ ।’  

सुझावित समाचार