मल अभावले रौतहटका किसान मारमा, रोपाइँको समयमा सहकारी र सीमापारि धाउँदै

सोमबार, ४ साउन, २०८३
डिजिटल संस्करण

देशभर रासायनिक मलको चरम अभाव भइरहेका वेला रौतहटका किसान सबैभन्दा बढी मारमा परेका छन्। रोपाइँको मुख्य समयमा खेतमा व्यस्त हुनुपर्ने किसान अहिले सहकारीका डिपो र सीमापारिका बजार धाउन बाध्य भएका छन्। कतिपय किसानले मल नपाईकनै धान रोपाइँ सकिसकेका छन् भने केहीले मल अभावकै कारण रोपाइँ रोक्नुपरेको छ।

किसानका अनुसार हरेक वर्ष खेतीको समयमा मल अभाव हुने गरे पनि यस वर्ष समस्या झन् गम्भीर बनेको छ। समयमै डिएपी मल नहाल्न पाउँदा धानको उत्पादन घट्ने चिन्ताले किसान थप चिन्तित छन्।

सरकारले हरेक वर्ष मल अभाव हुन नदिने आश्वासन दिए पनि व्यवहारमा समस्या दोहोरिँदै आएको उनीहरूको गुनासो छ। चन्द्रपुर– ८ का किसान राजन तिमल्सिनाले रोपाइँसँगै मल आवश्यक पर्ने भए पनि यसपालि दर्जनौँ स्थानमा खोज्दा पनि मल नपाएको बताए। ‘मल नछरी रोप्दा रोपो राम्रो हुँदैन, उत्पादन पनि घट्छ। धेरै ठाउँमा भौँतारिँदा पनि मल पाइएन, अब के गर्ने भन्ने चिन्ता छ,’ उनले भने।

उनीजस्तै चन्द्रपुर– ८ कै अर्का किसान सुरेश अधिकारी ६ कट्ठा जमिनमा रोपाइँ गर्न डिएपी मलको खोजीमा छन्। बिहीबार उनले सहकारीमा फोन गरेर पाँच किलो मलका लागि अनुरोध गरे पनि मल पाउन सकेनन्। ‘धानको बिउ छिप्पिसकेको छ, खेत रोपाइँका लागि तयार छ। यो यसपालिको मात्र समस्या होइन, बर्सेनि यस्तै नियति भोग्दै आएका छौँ,’ उनले भने, ‘थोरै जमिन हुनेको त यस्तो अवस्था छ भने धेरै खेती गर्ने किसानको हालत के होला ?’

किसानहरूका अनुसार पर्याप्त मल नआएको भन्दै सहकारीहरूले पनि हात उठाएका छन्। दिनहुँ सहकारी धाए पनि अधिकांश किसान रित्तै फर्किन बाध्य छन्। विजयपुरका किसान सहदेव चौधरीका अनुसार आफ्नै देशमा मल नपाएपछि किसान भारततर्फ जान खोजे पनि यसपटक त्यहाँबाट मल ल्याउनसमेत सहज छैन।
‘आफ्नै देशका सहकारीमा मल पाइँदैन, भारतबाट ल्याउन खोज्दा पनि समस्या छ,’ उनले भने, ‘भारतीय सुरक्षाकर्मीले सीमामा कडाइ गरेको खबर पाएपछि धेरै किसान मल लिन भारत जान पनि डराइरहेका छन्।’

किसानहरूका अनुसार केही दिनयता सीमामा सशस्त्र सीमा बल (एसएसबी)ले मल ल्याउन कडाइ गरेको छ। जसका कारण सीमापारिबाट मल ल्याउने विकल्पसमेत बन्दजस्तै भएको उनीहरूको भनाइ छ।

चन्द्रनिगाहपुरस्थित कृषि सामग्री कम्पनी लिमिटेडले पुरानो मौज्दातबाट तीन हजार ५८४ बोरा डिएपी वितरण गरेको जनाएको छ। तर, यो जिल्लाको आवश्यकताका तुलनामा अत्यन्तै न्यून हो। जिल्लामा हरेक वर्ष ५० हजार बोराभन्दा बढी डिएपी मल आवश्यक पर्ने कृषि कार्यालयको तथ्यांक छ।

कृषि सामग्री कम्पनीका सूचना अधिकारी गोविन्द घिमिरेले बाहिरबाट पर्याप्त आपूर्ति नभएकाले मल अभाव भएको बताए। ‘मागअनुसार मल उपलब्ध छैन। अहिले पुरानै मौज्दातबाट वितरण गरिरहेका छौँ,’ उनले भने, ‘पश्चिम एसियामा जारी युद्धका कारण थप मल आयात प्रभावित भएको छ। अब  केही मल आउने अपेक्षा गरेका छौँ।’ उनका अनुसार कम्पनीसँग हाल १७ हजार ४८० बोरा युरिया मौज्दात रहेको छ। चन्द्रपुर– ८ का वडाध्यक्ष जितेन्द्र चौधरीका अनुसार वडामा करिब सात हजार किसान छन्। तर, अहिलेसम्म कृषि सामग्री कम्पनीले वडाका लागि ४९ बोरा डिएपी मात्रै उपलब्ध गराएको छ। ‘सात हजार किसानका लागि ४९ बोरा डिएपीले कसरी पुग्छ ? सर्वसाधारण किसान ठुलो समस्यामा परेका छन्,’ उनले भने।

कृषि ज्ञान केन्द्र रौतहटका प्रमुख सुरेन्द्रप्रसाद कुर्मीका अनुसार जिल्लामा हालसम्म करिब ५० प्रतिशत धान रोपाइँ सम्पन्न भइसकेको छ। तर, मल अभावका कारण धेरै स्थानमा किसान रासायनिक मल नहालीकनै धान रोप्न बाध्य भएका छन्। समयमै मल उपलब्ध नभए यस वर्ष धान उत्पादनमा प्रत्यक्ष असर पर्ने कृषि क्षेत्रका जानकारहरूको भनाइ छ।

See More On

सुझावित समाचार