विद्युतीय सवारीसाधन (इभी) उत्पादक कम्पनी जिडब्लुएमले आफ्नै ब्याट्री प्रविधि सुरु गरेको छ । कम्पनीले आफ्नै भगिनी कम्पनी स्भोल्ट इनर्जीमार्फत ब्याट्रीको अनुसन्धान, विकास र उत्पादन गर्न थालेको हो । जसका कारण जिडब्लुएमले ब्याट्री प्रविधिको गुणस्तर, सुरक्षा र विश्वसनीयतामाथि पूर्ण नियन्त्रण कायम गर्न सफल भएको दाबी गरिएको छ ।
धेरैजसो अटोमोबाइल कम्पनीले तेस्रो पक्षबाट ब्याट्री खरिद गर्ने भए पनि ब्याट्रीको सुरक्षा, कार्यक्षमता र विश्वसनीयता ग्राहकको सबैभन्दा ठुलो प्राथमिकता बनेकाले आफैँ उत्पादन गर्न थालिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार हालै नेपालमा सार्वजनिक भएको जिडब्लुएम ओरा–५ एसयुभी इभीमा प्रयोग गरिएको ड्रागन आर्मर ब्याट्री पनि स्लोभेटले उत्पादन गरेको हो ।
वर्षौँको अनुसन्धान र प्रविधि विकासपछि तयार गरिएको यो ब्याट्रीले आगो र पानी प्रतिरोधी उच्च सुरक्षा, लामो ड्राइभिङ रेन्ज, फास्ट चार्जिङ क्षमता तथा उत्कृष्ट कार्यसम्पादनलाई एउटै प्लाटफर्ममा समेटेको बताइएको छ । ‘ब्याट्रीभित्रका सेलहरू ड्रागनको खप्टाजस्तै तह–तहमा मिलाएर राखिएका छन् । यसले विशेष प्रकारको डाउनवर्ड भेन्टिङ प्रणाली निर्माण गर्छ, जसले कुनै असामान्य अवस्थामा ताप वा आगो उत्पन्न भए पनि त्यसलाई यात्रु बस्ने क्याबिनतर्फ फैलिन नदिई तलतर्फ बाहिर निकाल्ने कार्य गर्छ । यसैकारण यो संरचनाले यात्रुहरूको सुरक्षाका लागि थप सुरक्षात्मक कवचका रूपमा काम गर्छ,’ कम्पनीको भनाइ छ ।