हलेसीमा चाम्लिङ सामुदायिक होमस्टे सञ्चालनमा

आइतबार, ३ साउन, २०८३
डिजिटल संस्करण

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७, महादेवस्थानस्थित ऐंसेलुखर्कका राई चाम्लिङ समुदायले सामुदायिक होम–स्टे (घरबास) सञ्चालनमा ल्याएका छन्। साउन २ गतेदेखि औपचारिक उद्घाटन गरिएको होमस्टेसँगै ब्रान्डिङ गरिएको कोदोको तीनपाने रक्सीको बिक्री-वितरणसमेत सुरु गरिएको छ।

पर्यटकलाई स्थानीय अर्गानिक परिकारको स्वाद चखाउने र चाम्लिङ राई समुदायको संस्कृति अनुभूति गराउने उद्देश्यसहित होम–स्टे सञ्चालनमा ल्याइएको सञ्चालकहरूले जनाएका छन्। त्रिधार्मिकस्थल हलेँसीबाट करिब एक किलोमिटर दूरीमा रहेको यो होम–स्टे पर्यटकको रोजाइमा पर्ने विश्वास गरिएको छ।

होम–स्टेमा आउने पाहुनाले लोकल कुखुराको मासु, ढिँडो, गुन्द्रुकको अचारलगायतका परिकारसँगै स्थानीय संस्कृति नजिकबाट बुझ्ने अवसर पाउनेछन्। ‘कोदोको सुगन्ध, संस्कृतिको सम्बन्ध’ नारासहित सुरु गरिएको होम–स्टेमा आउने पाहुनाका लागि सस्तो दररेट निर्धारण गरिएको छ।

होम–स्टेमा खान र बस्नका साथै किराँत संस्कार तथा संस्कृति अध्ययन र साकेला सिलीसमेत अवलोकन गर्न पाइने जनाइएको छ। स्थानीय ३० घर चाम्लिङ राईहरूको सहभागितामा सञ्चालन गर्ने लक्ष्यसहित सुरु गरिएको होम–स्टेमा हाल आठ घर सहभागी भएका छन्।

हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेँसीमा हरेक वर्ष लाखौँ पर्यटक आउने भएकाले उनीहरूलाई स्थानीयस्तरमै सेवा दिने लक्ष्यका साथ होम–स्टे सञ्चालन गरिएको नगरप्रमुख विमला राईले बताइन्। ‘तत्कालका लागि दैनिक ४० जना पाहुनालाई राख्न मिल्ने व्यवस्था गरिएको छ,’ उनले भनिन्, ‘यो होटेल व्यवसायीसँगको प्रतिस्पर्धा होइन। यसको छुट्टै विशेषता छ।’

नगरपालिकाले दुई वर्षदेखि पूर्वाधार तयारी गरेको जनाउँदै पहिलो वर्ष सडक स्तरोन्नति तथा ग्राबेल गरिएको र दोस्रो वर्ष सिँढी बाटो निर्माण, तालिम र कोदोको तीनपाने रक्सी ब्रान्डिङ गरिएको नगरप्रमुख राईले जानकारी दिइन्। ब्रान्डिङ गरिएको रक्सीलाई बोतलिङ र लेबलिङ गरी बजारमा ल्याइएको छ।

नगरपालिकाको पहलमा उत्पादन गरिएको लोकल रक्सीमा अल्कोहलको मात्रसमेत मेसिन प्रयोग गरेर निर्धारण गरिएको छ। स्थानीय तालिमप्राप्त महिलाले उत्पादन गरेका रक्सीमा ४५ देखि ५० प्रतिशतसम्म अल्कोहल रहेको जनाइएको छ। उत्पादित रक्सीलाई नगरपालिकाले कार्यविधि बनाएर होम–स्टेमार्फत मात्रै बिक्री-वितरण गर्ने व्यवस्था मिलाएको जनाएको छ।

सुझावित समाचार