जोखिम बढेपछि आज राति पनि नारायणगढ–मुग्लिन सडक बन्द

आइतबार, ३ साउन, २०८३
डिजिटल संस्करण

अविरल वर्षासँगै पहिरो र बाढीको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय चितवनले नारायणगढ–मुग्लिन–काठमाडौं सडकखण्डमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाएको छ।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार शुक्रबार राति १० बजेदेखि अर्को सूचना जारी नभएसम्म उक्त सडकखण्डमा चल्ने सबै प्रकारका सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जारी गरेको सूचनामा उल्लेख छ।

प्रशासनका अनुसार धादिङलगायत छिमेकी जिल्लासहित चितवनका विभिन्न स्थानमा निरन्तर वर्षा भइरहेको छ। मौसम पूर्वानुमानअनुसार वर्षा अझै बढ्ने सम्भावना रहेकाले रातको समयमा सवारी सञ्चालन गर्दा यात्रु तथा चालकको सुरक्षामा गम्भीर जोखिम उत्पन्न हुन सक्ने भएकाले यस्तो निर्णय गरिएको बताइएको छ।

विशेष गरी नारायणगढ–मुग्लिन सडकखण्ड वर्षायाममा पहिरो र ढुंगा खस्ने तथा सडक अवरुद्ध हुने उच्च जोखिममा रहने भएकाले सम्भावित मानवीय क्षति रोक्न पूर्वसावधानीस्वरूप सवारी सञ्चालन रोकिएको प्रशासनले जनाएको छ।

जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक कामबाहेक रातको यात्रा नगर्न तथा प्रशासन र सुरक्षा निकायबाट जारी गरिने सूचनाको पालना गर्न सर्वसाधारणसँग आग्रह गरेको छ। मौसममा सुधार आएपछि अवस्था मूल्यांकन गरी सवारी सञ्चालनबारे नयाँ सूचना जारी गरिने बताइएको छ।

सडक बन्द अवधिमा थप सूचना, समन्वय तथा सहजीकरणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र तथा जिल्ला प्रहरी कार्यालय चितवनसँग सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ।

सुझावित समाचार