भिसा उपलब्ध गराइदिन पूर्वच्याम्पियनको ट्रम्पसँग गुहार

आइतबार, ३ साउन, २०८३
डिजिटल संस्करण
  • सन् २०१६ मा क्यापडेभिलाले इरानमा ला लिगा स्टार्सबाट एक खेल खेलेका थिए । जसको कारण उनको भिसा रद्द गरियो ।

स्पेनलाई सन् २०१० को फिफा विश्वकप जिताएका डिफेन्डर जोन क्यापडेभिलाले अमेरिकाको भिसा मिलाइदिन राष्ट्रपति डोनाल्ड ट्रम्पसँग अनुरोध गरेका छन् । अर्जेन्टिना र स्पेनबिच आइतबार राति हुने विश्वकप हेर्न अमेरिका जाने तयारीमा रहेका क्यापडेभिलाले भिसा पाएनन् ।

अर्जेन्टिना लगातार दोस्रो तथा समग्रमा चौथो र स्पेन दोस्रोपटक च्याम्पियन हुन न्युयोर्कमा प्रतिस्पर्धा गर्दै छन् । क्यापडेभिला सन् २०१० मा स्पेनलाई उपाधि जिताउँदाका महत्वपूर्ण सदस्य थिए ।

उनले के कारण आफूले भिसा नपाएको पनि खुलाएका छन् । सन् २०१६ मा क्यापडेभिलाले इरानमा ला लिगा स्टार्सबाट एक खेल खेलेका थिए । जसको कारण उनको भिसा रद्द गरिएको थियो ।

४८ वर्षीय क्यापडेभिलाले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै ट्रम्पलाई ट्याक गरेका छन् । उनले लेखेका छन्, ‘मलाई बल्ल थाहा भयो, म आफ्नो बच्चासहित फाइनल खेल हेर्न जान सक्दिनँ । मेरो भिसा रद्द गरिएको छ,’ उनले भने, ‘के मलाई कसैले सहयोग गर्न सक्छ ? म आफ्नो सन् २०१० को सहकर्मीसँग स्पेनको समर्थन गर्न उत्साहित छु ।’ ‘मलाई विश्वास लागिरहेको छैन । म अमेरिका जान सकिरहेको छैन । अझ मेरो बच्चा जसलाई फुटबल निकै मनपर्छ । म उसलाई फाइनल देखाइरहन पाइरहेको छैन ।’

रेफ्रीले पनि पाएका थिएनन् भिसा
विश्वकप चलिरहँदा अमेरिकाको भिसा नपाउने क्यापडेभिला पहिलो व्यक्ति भने होइनन् । यसअघि सोमालियाका रेफ्री ओमार अब्दुलकदिर अर्टन विश्वकप खेलाउन छनोट भए पनि अमेरिका प्रवेश नै पाएनन् । उनलाई अमेरिकाले भिसा नै उपलब्ध गराएन । अमेरिकाले सोमालीसँगै विश्वकपमा छनोट भएका हाइटी, इरान, सेनेगल र आइभोरी कोस्टसहित १२ देशलाई आतंकवादी संगठनको साथ दिएको भन्दै प्रवेश निषेध गरेको थियो । सोहीकारण रेफ्री ओमारले अमेरिका प्रवेश गर्न पाएका थिएनन् ।

त्यस्तै, अमेरिकासँगको राजनीतिक द्वन्द्वका कारण इरानी खेलाडीले पनि मुस्किलले भिसा पाएका थिए । भिसा पाए पनि ८ घण्टासम्म अध्यागमन विभागले विमानस्थलमा रोकेर केरकार गरेको थियो । इरानी खेलाडी मेक्सिकोमा प्रशिक्षण गरेर खेल खेल्न अमेरिका आउनुपरेको थियो । 

सुझावित समाचार