आयल निगमले धुलिखेल–काठमाडौं रुटमा सञ्चालन हुने गरी हाइड्रोजन बस सञ्चालन गर्ने योजना अघि सारेको छ । निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी)लाई एउटा हाइड्रोजन बस उपलब्ध गराउनसमेत प्रस्ताव गरेको छ ।
गत भदौमा आयल निगमको टोलीले आइओसी पुगेर हाइड्रोजन बस अनुदानमा उपलब्ध गराउने आग्रह गरेको थियो । आइओसीले पनि त्यतिवेला सकारात्मक प्रतिक्रिया दिएको आयल निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।
‘एउटा बैठकमा आइओसीले निर्माण र सञ्चालन गरेको हाइड्रोजन बसका बारेमा विस्तृतमा छलफल भएको थियो र एउटा बस नेपाललाई उपलब्ध गराउन हामीले प्रस्ताव पनि गरेको हो,’ उनले भने, ‘अहिले भने त्यसबारे थप छलफल गर्ने वेला भएको छ ।’ सो बस उपलब्ध भए धुलिखेल–काठमाडौं रुटमा सञ्चालन गर्ने निगमको योजना छ ।