२३ जिल्लामा रेडअलर्ट, रात्रिकालीन सवारीसाधन सञ्चालनमा रोक

शनिबार, २ साउन, २०८३
डिजिटल संस्करण

देशका विभिन्न भागमा हुन सक्ने अतिभारी वर्षा र त्यसबाट सिर्जना हुन सक्ने बाढी, पहिरो एवं डुबानको जोखिमलाई मध्यनजर गर्दै सरकारले २३ जिल्लामा रात्रिकालीन सवारीसाधन चलाउन रोक लगाएको छ।

विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मनसुन प्रतिकार्य कमान्ड पोस्टको शनिबारको बैठकले अत्यधिक वर्षाको आकलन गरिएको जिल्लामा शनिबार रात्रिकालीन सवारीमा रोक र सडकमा भारी उपकरण तैनाथीको निर्णय गरेको हो। बैठकले परिस्थिति हेरेर जुनसुकै वेला पनि यातायात सेवा पूर्ण रूपमा बन्द गर्न सक्ने अधिकार जिल्ला सुरक्षा समितिलाई दिइएको छ। आइतबारका हकमा भने परिस्थिति हरेर निर्णय लिने भनिएको छ। प्राधिकरणको निर्देशनसँगै जिल्ला प्रशासन कार्यालयहरू रात्रिकालीन गाडी बन्द गरिएको सूचना जारी गर्न थालेका छन्।

जल तथा मौसम विज्ञान विभागले शनिबार मात्र विशेष बुलेटन जारी गर्दै शनिबार र आइतबारका लागि २३ जिल्लालाई रेडअलर्टमा राखेको र पश्चिम नेपालका हिमाली जिल्लाबाहेकलाई आरेन्ज अलर्ट दिएको छ। 

विभागको बुलेटिनपछि बसेको बैठकले सम्भावित पहिरो वा बाढीका कारण सडक अवरुद्ध भएमा तत्काल खुलाउनका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण र जोखिमयुक्त राजमार्ग एवं सडकहरूमा डोजर, एक्साभेटर तथा लोडर जस्ता भारी उपकरणहरू तयारी अवस्थामा राख्न सडक विभाग र सम्बद्ध निकायलाई भनेको छ।  

त्यस्तै, प्राधिकरणले बाढी र पहिरोको उच्च जोखिममा रहेका बस्ती तथा घरपरिवारलाई विपत् आउनुपूर्व नै सुरक्षित स्थानमा स्थानान्तरण गर्न जिल्ला सुरक्षा समिति, स्थानीय तह र सुरक्षा निकायलाई अनुरोध पनि गरेको छ।  त्यस्तै, विपद्को अवस्थामा तत्काल उद्धार र राहतका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसहित तीनवटै सुरक्षा निकाय, स्थानीय तह र स्वयंसेवकहरूलाई तयारी अवस्थामा (हाइअलर्ट) रहन निर्देशन दिइएको छ। साथै, आवश्यक राहत र उद्धार सामग्रीहरू तत्काल उपलब्ध गराउन आपत्कालीन गोदामघरहरूलाई तयारी अवस्थामा राखिएको छ। 

विभागले जारी गरेको विशेष बुलेटिनका आधारमा देशका २३ जिल्लाहरूलाई रातो रङ अर्थात् तत्काल प्रतिकार्य गर्नुपर्ने श्रेणीमा राखिएको छ। रातो अलर्ट जारी गरिएका जिल्लामा पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बाग्लुङ, म्याग्दी र स्याङ्जा  छन्। कमाण्ड पोष्टले यी जिल्लाका जिल्ला सुरक्षा समिति र स्थानीय तहहरूलाई उच्च सतर्क अवस्थामा रहन निर्देशित गरेको छ।  

विभागका अनुसार शनिबार राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू(भागका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ।

देशका पहाडी र तराई भूभागका अधिकांश स्थानमा मेघगर्जन, चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। तस्तै,  देशका पहाडी भूभाग, कोशी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशको तराईको एक(दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।  कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भू(भागको एक(दुई स्थानमा धेरै भारीदेखि अति भारी वर्षाको समेत सम्भावना रहेको छ। 

आइतबार पनि देशभर वर्षाको सम्भावना छ। तर, कोशी र लुम्बिनी, गण्डकी प्रदेशका पहाडी र तराई भू(भाग थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा मधेश, बागमती र सुदुरपश्चिम प्रदेशको पहाडी र तराई भूभागको एक-दुई स्थानमा भारी वर्षाको आकलन छ। त्यस्तै, कोशी प्रदेशको पहाडी र तराई भू(भाग एक-दुई स्थानमा अति भारी वर्षाको समेत चेतावनी दिइएको छ।
 

सुझावित समाचार