पोखरा बजारको बिच भाग भएर बहने सोती नदी ठेलिएको छ। पोखरा महानगरपालिका वडा नम्बर १५ र १७ को सीमानामा पर्ने रातोपैह्रे क्षेत्रमा गत वैशाखमा आएको सुक्खा पहिरोको कारण सेती बहने सतहको बाटोमा अवरोध भएपछि करिव ३५/४० मिटर माथिबाट पानी बगेको हो।
सेती बहने सतहमा अवरोध भएपछि नदीको करिब आधा पानी नदीको सहतबाट बगेको छ भने आधा पानी करिब ३५-४० मिटरमाथिबाट झरनाजस्तै गरी बगेको छ।
पोखरा- १० स्थित रामघाटबाट भूमिगत, खोँच, अर्ध–भूमिगत हुँदै करिब सात किलोमिटरको दूरी पार गर्दै रातोपैहे क्षेत्रमा सेती निस्केको छ। भूमिगत स्थान पार गर्दै खुला क्षेत्रमा निस्कने स्थानमा करिब ३५-४० मिटर अग्लो सतहमा सेतीको करिब आधा पानी बगेपछि करिब सात किलोमिटर क्षेत्रमा पानी रोकिएको छ। रातोपैह्रे क्षेत्रमा पानीको बहाव रोकिएका कारण रामघाटमा समेत सेतीको सतह बढेको छ, जसले गर्दा रातोपैह्रेसम्मको क्षेत्रमा समेत भित्र ताल बनेको सहजै अनुमान गर्न सकिन्छ।
लगातार वर्षा भैरहने र ठेलिएको पानी यही अवस्थामा अबको दुई तीन दिन रहे त्यसले ठुलो जोखिम निम्त्याउन सक्ने आकलन गरिएको छ। सेती भूमिगत भएको स्थानबाट निस्कने रातोपैह्रेसम्मको क्षेत्रका विभिन्न स्थानमा गहिरो, चिरा, सुरुङजस्ता भाग जहाँ चुनढुंगा र क्याल्सियमयुक्त गहिरो खोँच तथा कतिपय स्थानमा नदी सतहबाट नदेखिने गरी सुरुङजस्ता भागभित्र भूमिगत च्यानलहरू बनाउँदै बगेकाले पानी रोकिइरहँदा दायाँ बायाँ छिरेको खण्डमा त्यसले ठुलो समस्या खडा गर्न सक्ने अनुमान गरिएको छ। सँगै ठेलिएको पानी एकैपटक फुटे तल्लो तटीय क्षेत्रमा धेरै असर गर्ने अनुमान गरिएको छ।
स्थानीय हरि बाँस्तोलाले ठेलिएको स्थानमा दायाँ–बायाँ भाग अझै बिस्तारै भासिने र थप पहिरो खस्ने क्रम रहेको बताए। थुनिएको भागमा शुक्रबारसमेत माथिबाट पहिरो आएको बताउँदै भत्किने वा थप पहिरो खस्ने जोखिम अझै बढेको बताए। ठेलिएको पानीका कारण त्यस क्षेत्रको भू–भागसमेत कमजोर बन्दै गएकाले एक्कासि ठेलिएको पानी खोलिए यसले रातोपैह्रेसँगै महत्तगौँडा, लामातारा, दोबिल्ला हुँदै तनहुँको दमौली बजारसम्मलाई असर पार्ने बताए। भोलि हुन सक्ने जोखिमलाई ध्यान दिँदै उच्च सतर्कता, जोखिम न्यूनीकरणका लागि पूर्वतयारी आवश्यक रहेको सुझाव उनको छ।
पृथ्वीनारायण क्याम्पस, पोखराअन्तर्गतको भूगोल विभागका विभागीय प्रमुख डा. रामजीप्रसाद पोखरेलले पोखराको भूबनोट खोक्रो रहेकाले नदीको बहावमा अवरोध भैरहे यसले ठुलो समस्या निमत्याउन सक्ने बताउँछन्। नदीको पानीले लामो समय बाटो नपाए त्यो पानी दायाँ बायाँ खेल्न सक्ने भएकाले सतर्क रहन आवश्यक रहेको उनको भनाइ छ। पानी कति समय रहन्छ भन्ने हो, नदी क्षेत्रमा धेरै चिरा परेका स्थानहरू पनि छन्, हामीकहाँ यस प्रकारले ठेलिएको स्थान खोल्नका लागि आवश्यक उपकरणहरू पछि छैन्न, भएको भए समस्या समाधान भैहाल्थ्यो । पानी ठेलिएको क्षेत्र खोक्रो, त्यसमाथि ठुला-ठुला संरचनाहरू निर्माण भएकाले, पानीले विनाअवरोध आफ्नो बाटो नलिएसम्म खतरा भैरहने भएकाले नदीकिनारमा बस्नेहरू सतर्क रहनुपर्ने भनाइ उनको छ। त्यस क्षेत्रको माटो पानीमा सजिलै घुल्न सक्ने र घुल्ने प्रकृतिको भएका कारण अवस्था हेरेर जोखिमयुक्त बस्तीलाई सुरक्षित स्थानमा सार्न आवश्यक रहेको उनी बताउँछन्।
अर्का भूगोलविद् डा. कृष्ण केसीले यस क्षेत्रमा विगतदेखिनै जमिन भासिने र सेती नदीको डिल खस्ने समस्या रहेको बताए। नदीको जोखिमयुक्त किनार क्षेत्रमा नियमित निगरानी आवश्यक रहेको उनी बताउँछन्। पोखरा महानगरले नगर क्षेत्रमा रहेका भू–जोखिमका क्षेत्रसँगै विपत् व्यवस्थापनबारे आवश्यक बहस, अध्ययन र दीर्घकालीन योजना नबनाएका कारण समय समयमा सदस्यता आउने गरेको केसीले बताए।
कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले पानी ठेलिएको विषयमा विज्ञ, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायत सरोकारवाला निकायसँग छलफल गरी आवश्यक व्यवस्थापनका लागि पहल भैरहेको बताए। यसमा लागि सुरक्षा निकायको टोली परिचालन गरिएको, ठेलिएको स्थान खोलेर नदीलाई पुरानै अपस्थामा फर्काउन के गर्न सकिन्छ, त्यसका बारेमा समेत विज्ञहरूसँग छलफल भैरहेको उनले बताए।