खेल तालिका : नेपाली समय अनुसार साउन ३ गते, बिहान २:४५ बजे
इंग्ल्यान्ड र फ्रान्सले २३औँ संस्करणको विश्वकप फुटबल प्रतियोगितामा एक–आपसमा तेस्रो स्थानका लागि भिड्ने भनी कल्पना गरेका थिएनन् । दुवैको लक्ष्य उपाधि भिडन्त थियो । तर, सेमिफाइनलमा कमजोर प्रदर्शन भएपछि यी दुवै राष्ट्रबिच आइतबार बिहान २:४५ बजे तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुने समीकरण बनेको छ । उनीहरूको लक्ष्य भनेको कम्तीमा तेस्रो स्थान रक्षा गरी प्रतियोगिता सकाउने हो । यो स्थान प्राप्तिका लागि दुवै तयार छन् ।
इंग्ल्यान्डको तुलनामा फ्रान्सले स्पेनविरुद्ध प्रतियोगिताकै कमजोर प्रदर्शन गरेको थियो । सेमिफाइनलमा फ्रान्सको प्रदर्शन अपेक्षाभन्दा बाहिर थियो । सेमिफाइनलअघिसम्म फ्रान्स डिफेन्सदेखि फिनिसिङसम्म सर्वाधिक बलियो टोली थियो । तर, स्पेनको टिकीटाका शैलीअगाडि फ्रान्स निरीह देखियो । फ्रान्सका मुख्य स्ट्राइकरहरूले प्रतियोगितामा सर्वाधिक १६ गोल गरेका थिए । यसले पनि उनीहरूको आक्रामक शक्ति दर्साउँछ ।
इंग्ल्यान्डले भने सेमिफाइनलमा साबिक विजेता अर्जेन्टिनासँग प्रतिस्पर्धा गरेको थियो । इंग्ल्यान्डले खेलको अन्तिम १० मिनेट सम्हालिएर खेल्न नसक्दा खेल गुमायो । इन्जुरी समयमा अर्जेन्टिनाका खेलाडीलाई मार्किङ गर्न नसक्दा इंग्ल्यान्ड २–१ ले पराजित हुँदै तेस्रो स्थानका लागि बाध्य भएको हो । खेलको ८० मिनेटसम्म पनि इंग्ल्यान्डले १–० को अग्रता लिएको थियो ।
अर्जेन्टिनी कप्तान लियोनल मेसीको उत्कृष्ट खेल प्रदर्शनका कारण अर्जेन्टिनाले सनसनी पुनरागमन गर्दै इंग्ल्यान्डलाई हरायो । फ्रान्स र इंग्ल्यान्डबिचको एउटै समानता छ । दुवैका कप्तानले अहिलेसम्म प्रेरणादायी प्रदर्शन गरेका छन् । फ्रान्सका कप्तान केलियन एम्बाप्पेले प्रतियोगितामा आठ र इंग्ल्यान्डका कप्तान ह्यारी केनले ६ गोल गरेका छन् । एम्बाप्पे यसपटक गोल्डेन बुट प्राप्तिका लागि अग्रसर छन् । यद्यपि, गोल्डेन बुटको दौडमा अर्जेन्टिनी कप्तान लियोनल मेसी अगाडि छन् ।
इंग्ल्यान्डविरुद्ध गोल गर्दा एम्बाप्पेले गोल्डेन बुटमा बलियो दाबेदारी दिनेछन् । इंग्ल्यान्डका कप्तान केनले टोलीलाई अब तेस्रो स्थान दिलाउँदै विश्वकपबाट बिदा हुने योजना बनाएका छन् ।
प्लेयर्स टु वाच
केलियन एम्बाप्पे (फ्रान्स)
फ्रान्सका कप्तान एम्बाप्पे सेमिफाइनलमा स्पेनविरुद्ध चल्न सकेनन् । स्पेनबाहेक अन्य खेलहरूमा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए । अर्जेन्टिनी कप्तान लियोनल मेसीसँगै विश्वकपमा सर्वाधिक आठ गोल गरेका एम्बाप्पेको नजर इंग्ल्यान्डविरुद्ध हुनेछ । उनी कम्तीमा विश्वकपबाट तेस्रो स्थान हात पारेर घर फर्किने योजनामा छन् । यसका साथै एम्बाप्पेले सर्वाधिक गोल गर्ने खेलाडी र गोल्डेन बुट प्राप्त गर्न इंग्ल्यान्डसँगको अन्तिम अवसरका रूपमा लिएका छन् । इंग्ल्यान्डको डिफेन्सलाई उनी चिर्न सक्छन् । रियल म्याड्रिडका खेलाडी शारीरिक र प्राविधिक रूपमै क्षमतावान् छन् । उनलाई औसमान डेम्बेले र माइकल ओलिसेले साथ दिनेछन् ।
ह्यारी केन (इंग्ल्यान्ड)
इंग्लिस समर्थकले कप्तान ह्यारी केनको नेतृत्वमा सन् १८६६ पछि विश्वकप विजेता हुने सपना देखेका थिए । इंग्ल्यान्ड सेमिफाइनलमा अर्जेन्टिनाबाट २–१ ले पराजित हुँदा पुनः एकपटक इंग्लिस समर्थक निराश बने । यद्यपि, इंग्ल्यान्ड अब कम्तीमा तेस्रो स्थान रक्षा गरी घर फर्किने योजनामा हुनेछ । यस्तोमा फेरि पनि कप्तान केनकै कुशल भूमिकाको आवश्यकता देखिन्छ । समूह चरणदेखि सेमिफाइनलसम्म एकनास प्रदर्शन गरेका केन फ्रान्सविरुद्ध पनि आफ्नो फर्म जारी राख्ने प्रयासमा हुनेछन् । केनले क्वार्टरफाइनलदेखि गोल गर्न सकेका छैनन् । केनलाई पनि गोल्डेन बुट दाबेदारी दिन गोल आवश्यक छ । उनले फ्रान्सविरुद्ध गोल गर्दा गोल्डेन बुटका अन्य दाबेदार मेसी र एम्बाप्पेमाथि दबाब बढ्न सक्छ ।