योपटकदेखि च्याम्पियनले पाउनेछन् हिरा र सुनजडित औँठी

शनिबार, २ साउन, २०८३
डिजिटल संस्करण

फिफाले योपटकदेखि विश्वकपमा विभिन्न किसिमका प्रयोग गरिरहेको छ । सुरुमा ऐतिहासिक रूपमा तीन राष्ट्रलाई संयुक्त रूपमा आयोजक राष्ट्र बनायो । त्यसपछि फिफाले सर्वाधिक ४८ राष्ट्रबिच विश्वकप खेलायो । फिफाले विश्वकप विजेतालाई सरप्राइज गिफ्ट दिने भएको छ । फिफाले पहिलोपटक विश्वकप उचालेका खेलाडी तथा अफिसियलहरूलाई आकर्षक औँठी प्रदान गर्ने भएको छ ।

न्यु जर्सीको मेटलाइफ रंगशालामा आइतबार राति अर्जेन्टिना र स्पेनबिचका विजेताले आकर्षक औँठी पाउनेछन् । फिफाले यसलाई च्याम्पियनसिप रिङ भनेको छ । यस औँठीमा असली सुन र हिराले जडान गरिएको फिफाले उल्लेख गरेको छ ।

यस औँठीको एकापट्टिको भागमा फिफा विश्वकपको प्रसिद्ध ट्रफी अंकित हुनेछ । अर्कोतर्फ विजेता टोलीको पहिचान झल्किने गरी विशेष डिजाइन गरिनेछ । अमेरिकी खेलकुदको चर्चित एनबिए वा सुपर बउलमा मात्र यस्तो विशेष औँठी दिइन्छ । फिफा यसैबाट प्रभावित भएर विश्व विजेतालाई औँठी दिन लागेको बिबिसीले जनाएको छ ।

विजेता खेलाडी तथा अफिसियलले पुरस्कार वितरण समारोहमा वास्तविक औँठीको रिप्लिका प्रदान गरिनेछ । पछि फिफाले विजेता टोलीका सबै सदस्यको नाप लिएर औँठी प्रदान गरिने जनाएको छ । विश्वकपको मध्यनजर राखेर फिफाले २,०२६ वटा औँठी उत्पादन गर्नेछ । यसमध्ये १,९९६ वटा औँठी विश्वभरका फुटबल समर्थकका लागि बिक्रीमा राखिनेछ । समर्थकले विश्वकप २०२६ को इतिहासको एक चिह्नका रूपमा राख्न पाउनेछन् । 

See More On

सुझावित समाचार