रोनाल्डोले खेलाडी र समर्थकसँग मागे माफी

बिहिबार, २२ असोज, २०८३
प्रिन्ट संस्करण
  • पोर्चुगिज प्रशिक्षक जेसससँगको विवादपछि राष्ट्रिय टोलीको क्याम्प छाडेका क्रिस्टियानो रोनाल्डोले आफ्नो गल्ती स्विकारेका छन्

पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय फुटबल टोलीको क्याम्प छाड्नु गल्ती भएको स्विकारेका छन् । प्रशिक्षक जर्ज जेसससँगको विवादका कारण क्याम्प छाडेका रोनाल्डोले सजाय भोग्न तयार रहेको प्रस्ट पारेका छन् । नेसन्स लिगमा पोर्चुगलले रोनाल्डोविना नै तीन खेलमा प्रतिस्पर्धा गरेको थियो । नियमित कप्तानको अनुपस्थितिमा पनि उत्कृष्ट नतिजा निकाल्दै पोर्चुगल क्वार्टरफाइनलमा पुगेको छ । 

रोनाल्डोले एक सातापछि आफ्नो गल्ती स्विकार्दै संघले गर्ने सजाय भोग्न तयार भएको बताए । ‘राष्ट्रिय टोलीका साथी र जनतासँग क्याम्प छाडेकोमा माफी मागेको छु,’ उनले भने, ‘तर, कसैले गरेको वाचा तोडिनु मेरा लागि निकै गम्भीर विषय हो ।’ ४१ वर्षीय रोनाल्डोले प्रशिक्षक जेससले आफूसँग गरेको वाचा दुईपटक तोडेको दाबी गरेका छन् । ‘प्रशिक्षकले दुईपटक वाचा गरेका थिए । यी दुवै अवसरमा ममाथि धोका भयो,’ उनले भने, ‘यसकारण पोर्चुगलको प्रशिक्षण क्याम्प छाडेको थिएँ ।’ 

गत साता नेसन्स लिगअन्तर्गत नर्वेविरुद्धको खेलमा रोनाल्डो बेन्चमै थिए । डेनमार्कविरुद्ध पनि आफू सुरुवाती टोलीमा नपर्ने थाहा पाएपछि राष्ट्रिय टोलीको क्याम्प छाडेको उनको भनाइ छ । रोनाल्डोले सोसल मिडियामा भविष्यमा राष्ट्रिय टोलीबाट पाउने सबै किसिमको जिम्मेवारी वहन गर्न तयार भएको जनाए । ‘पोर्चुगलका लागि सधैँ तयारी अवस्थामा छु । आफूलाई दिइएको जिम्मेवारीबाट पछि हट्दिनँ,’ उनले भने । उनले पोर्चुगिज फुटबल महासंघले आफूलाई कारबाही गर्नुपर्ने र त्यसमा कुनै छुट दिन नहुने जनाए । ‘पोर्चुगिज फुटबल महासंघले यस कार्यको मूल्यांकन गरेर कठोर सजाय दिनुपर्छ । त्यो सजाय कम गरिनुहुँदैन भन्ने विश्वास छ,’ उनले भने, ‘मैले यसअघि सबैसँग माफी मागिसकेको छु, तर परिणाम के हुन्छ भन्ने थाहा छ ।’ पोर्चुगलले अब नोभेम्बरमा डेनमार्क र वेल्ससँग नेसन्स लिगका अन्तिम खेल खेल्नेछ ।

तत्काल सन्न्यास नलिने 
रोनाल्डोका समकक्षी अर्जेन्टिनी कप्तान लियोनल मेसीले बुधबार २१ वर्षको अन्तर्राष्ट्रिय फुटबल करिअरबाट बिदा लिएका छन् । मैत्रीपूर्ण फुटबल प्रतियोगितामा अन्तिमपटक खेल्दै मेसीले सन्न्यास लिए । तर, रोनाल्डोले पोर्चुगलबाट खेलिरहने इच्छा भएको बताए । ‘अझै केही समय पोर्चुगलबाट खेल्ने सपना छ । यसकारण तत्काल सन्न्यास घोषणा गर्दिनँ,’ उनले भने । दुई महिनाअघि अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरेको विश्वकप फुटबल प्रतियोगिताको प्रिक्वार्टरफाइनलबाट बाहिरिएपछि रोनाल्डोले सन्न्यास लिने अनुमान गरिएको थियो । तर, उनले पोर्चुगिज फुटबल महासंघका अध्यक्ष पेड्रो प्रोएन्सासँगको छलफलपछि सन्न्यासमा पुनर्विचार गरे । पोर्चुगलका लागि उनले २३४ खेलमा १४६ गोल गरिसकेका छन् । रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलका सर्वाधिक गोलकर्ता र सर्वाधिक खेल खेल्ने खेलाडी हुन् । उनको नेतृत्वमा पोर्चुगलले सन् २०१६ मा युरोकप र दुईपटक नेसन्स लिग उपाधि जितिसकेको छ ।

टोलीमा फर्कन आतुर
रोनाल्डोले राष्ट्रिय टोलीको जर्सीमा तत्काल फर्कने इच्छा देखाएका छन् । पछिल्ला तीन खेलमा मैदानबाहिरबाट खेल हेर्दा आफू भावुक बनेको उनको भनाइ छ । ‘आफ्नो कारण तीन खेल गुमाएँ । जसकारण मनदेखि नै दुःखी छु,’ उनले भने, ‘शारीरिक रूपमा फिट छु । व्यावसायिक रूपमा साउदी प्रो लिग खेलिरहेको छु । यसैगरी अन्तर्राष्ट्रिय फुटबल खेलिरहन चाहन्छु, ।’ यसअघि महासंघले नै पोर्चुगलको टोलीमा समावेश हुन रोनाल्डोलाई कुनै रोक नहुने जनाएको थियो ।

‘फुटबल इतिहासका महान् खेलाडीलाई कुनै पनि वेला आबद्ध हुन रोक लगाइएको छैन,’ महासंघले चार दिनअघि जारी विज्ञप्तिमा उल्लेख छ । रोनाल्डो अहिले साउदी क्लब अल नासरको प्रशिक्षणमा फर्किएका छन् । पोर्चुगल, स्पोर्टिङ, म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड, युभेन्टस र अल नासरबाट समग्रमा उनले ९७९ गोल गरेका छन् । उनी करिअरको हजार गोल पूरा गर्ने लक्ष्यनजिक छन् । 

See More On

सुझावित समाचार