उच्च अदालत तुलसीपुरमा जलेका ५८४ मुद्दाका मिसिल प्राप्त, तीनवटा बाँकी

शुक्रबार, १ साउन, २०८३
डिजिटल संस्करण

उच्च अदालत तुलसीपुरले आर्थिक वर्ष ०८२/८३ मा लक्ष्यभन्दा बढी मुद्दा फर्स्याेट गरेको छ । अदालतका मुख्य न्यायाधीश राजेश्वर तिवारीका अनुसार ६५ प्रतिशत लक्ष्य राखिएकोमा ६८.७ प्रतिशत मुद्दा फर्स्याेट भएका छन् । उनका अनुसार अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका २१२ र नयाँ दर्ता भएका ८५३ गरी कुल एक हजार ६५ थान मुद्दाको लगत रहेकोमा ७२५ थान मुद्दा फर्स्याेट भएका हुन् । त्यस्तै, ३४० थान मुद्दा आर्थिक वर्ष ०८३/८४ का लागि जिम्मेवारी सरेका छन् ।

जेन–जी आन्दोलनका क्रममा देशभरकै अदालतहरूमध्ये धेरै क्षति भए पनि उपलब्धि हासिल गर्न सफल भएको मुख्य न्यायाधीश तिवारीले बताए । आगजनी र तोडफोडका कारण अदालतको भौतिक संरचना र प्रशासनिक संरचना पूर्ण रूपमा ध्वस्त भएको थियो । जसबाट ५८७ थान मुद्दाका मिसिलहरू जलेर नष्ट भएका थिए । जसलाई पुनः प्राप्त गर्न अदालतले ६० दिने म्याद दिएर सूचना जारी गरी गरेको थियो । त्यसको ६ महिनामा ५८४ मुद्दाका मिसिल प्राप्त भएका थिए भने बाँकी तीनवटा मुद्दाका मिसिलहरू अझै प्राप्त भएका छैनन् ।

भवन क्षतिग्रस्त भएपछि न्यायाधीश र कर्मचारीहरूले करिब सात महिनासम्म गाडी पार्किङबाट इजलास सञ्चालन गरी न्याय सम्पादन कार्यलाई निरन्तरता दिएका थिए । एउटै कोठाबाट दर्ता चलानी, मुद्दा फाँट र प्रशासनका कार्यहरू सम्पादन गर्नुपर्ने बाध्यता रहेको सूचना अधिकारी कृष्णप्रसाद शर्माले बताए ।

तुलसीपुर उपमहानगरपालिकासँगको समन्वयमा दुईकोठे अस्थायी भवन निर्माण गरी ०८२ चैत २७ देखि इजलास सञ्चालन गरिएको थियो भने घोराही उपमहानगरपालिकाको सहयोगमा सुरक्षा ब्यारेक भवनमा अभिलेख शाखा व्यवस्थापन गरिएको छ । यद्यपि, बजेटको अभावका कारण अझै पनि सेवाग्राहीका लागि प्रतीक्षालय र पिउने पानीजस्ता आधारभूत सुविधाहरू उपलब्ध गराउन नसकिएको र नष्ट भएका कतिपय मिसिलका कागजातहरू आंशिक रूपमा मात्र प्राप्त भएकाले कार्यसम्पादनमा केही जटिलता कायमै रहेको मुख्य न्यायाधीश तिवारीले बताए ।

आगामी दिनमा मिसिलहरूको डिजिटलाइजेसन गर्ने र न्याय सम्पादनलाई अझ पारदर्शी र छिटोछरितो बनाउने लक्ष्य अदालतले लिएको छ ।

दुई वर्ष नाघेका उजुरी शून्य

उच्च अदालत तुलसीपुरमा दुई वर्ष नाघेका मुद्दा शून्य रहेका छन् । त्यस्तै, १८ महिनादेखि दुई वर्षसम्मको एउटा मुद्दा बाँकी रहेको छ, भने एक वर्षदेखि १८ महिनासम्मको एउटा,  ६ महिनादेखि एक वर्षसम्मका ८३ र ६ महिनाभित्रका २५५ रहेका छन् । यसरी हेर्दा मुद्दा लामो समयसम्म लम्बिएको अवस्था नरहेको मुख्य न्यायाधीश तिवारीले बताए । 

फौजदारी अभियोग बढी

अदालतमा आएका मुद्दाहरूमध्ये सबैभन्दा बढी सरकारी फौजदारी मुद्दा फर्स्याेट भएका छन् । जसमा ६१८ मध्ये ४४६ थान फर्स्याेट भएका छन् । त्यस्तै, दुनियावादी देवानीतर्फ २१९ मध्ये १२३ थान, दुनियावादी फौजदारीतर्फ १०६ मध्ये ६६ थान तथा १०८ थान रिट निवेदनमध्ये ७९ थान फर्स्याेट भएका छन् ।

त्यस्तै, थुनुवा रहेका मुद्दाहरूको हकमा १२८ थान लगतमध्ये ८८ थान फर्स्याेट भई ४० थान बाँकी रहेका छन् । अदालतको विगत पाँच वर्षको तुलनात्मक तथ्यांकअनुसार आर्थिक वर्ष ०८१/८२ मा सबैभन्दा बढी ८५.४४ प्रतिशत प्रगति भएको थियो भने ०७९/८० मा सबैभन्दा न्यून ५०.६६ प्रतिशत मात्र फर्स्याेट भएको देखिन्छ  ।

सुझावित समाचार