काठमाडौंमा पाँच सवारी एक–आपसमा ठोक्किँदा १० जना घाइते

शुक्रबार, १ साउन, २०८३
डिजिटल संस्करण

काठमाडौं महानगरपालिका– ४, कतार भिसा सेन्टरअगाडिको सडकखण्डमा भारतीय नम्बर प्लेटको कारसहित पाँच सवारीसाधन एक–आपसमा ठोक्किँदा १० जना घाइते भएका छन्।

चाबहिलबाट चक्रपथतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको बिआर ०६ डिडी ६०६३ नम्बरको कार, बा.२ज ३५७८ नम्बरको ट्याक्सी, लु .११प ४९७५ नम्बरको पल्सर मोटरसाइकल, बा.७३ज ३७२३ नम्बरको मोटरसाइकल र बा.प्र. ०२–०६८ प १०५६ नम्बरको मोटरसाइकल एक–आपसमा ठोक्किएका प्रहरीले जनाएको छ।

घाइते हुनेमा बाँके घर भई मनमैजु बस्ने १५ वर्षीया सिवानी शाही र उनका भाइ १० वर्षीय सुशान्त शाही, सर्लाही घर भई ललितपुर ग्वार्को बस्ने ३४ वर्षीय बिकी शाह, रामेछाप घर भई भक्तपुर बस्ने ४१ वर्षीया ऊर्जा लामा, वसुन्धारा बस्ने ६५ वर्षीया कुन्तिमाया लिम्बू, सर्लाही घर भई ललितपुरको इमाडोल बस्ने १८ वर्षीय निउजित शाह रहेका छन्।

यसैगरी, तेह्रथुम घर भई बसुन्धारा बस्ने ५७ वर्षीया विष्णुमाया खापुङ, उदयपुर घर भई थानकोट बस्ने २५ वर्षीया पार्वती तामाङ, उदयपुर घर भई काठमाडौं बस्ने २५ वर्षीय विनोद थापामगर र नवलपुर घर भई काठमाडौं गोलढुंगा बस्ने २२ वर्षीय जीवन रानामगर पनि घाइते भएका प्रहरीले जनाएको छ।

घाइतेमध्ये कुन्तिमाया लिम्बूको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था मध्यम रहेको छ। सबै घाइतेको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनामा संलग्न सबै सवारीसाधन नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान सुरु गरेको छ।

सुझावित समाचार