नेपाल लाइफले १३ अर्बभन्दा बढी प्रथम बिमा शुल्क आर्जन गर्दै नेपालको जीवन बिमा उद्योगमा पहिलोपटक अर्को ऐतिहासिक कीर्तिमान कायम गरेको छ।
नेपालको विश्वासिलो जीवन बिमा कम्पनीका रूपमा स्थापित कम्पनीले आफ्नो २५ वर्षको गौरवमय यात्राका अवसरमा तेह्र अर्बभन्दा बढी प्रथम बिमा शुल्क आर्जन गर्दै नेपालको जीवन बिमा इतिहासमा नयाँ अध्याय थप्न सफल भएको हो । कम्पनीले गत आर्थिक वर्षमा १० अर्ब प्रथम बिमा शुल्क आर्जन गर्दै कायम गरेको ऐतिहासिक उपलब्धिलाई यस वर्ष अझ उचाइमा पुर्याउन सफल भएको छ।
यस ऐतिहासिक सफलताका अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले कम्पनीलाई निरन्तर मार्गदर्शन प्रदान गर्नुहुने सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकहरू, नेपाल लाइफप्रति अटल विश्वास राखी जीवन बिमा गरेका सम्पूर्ण बिमितहरू, कम्पनीको मेरुदण्डका रूपमा रहेका समर्पित बिमा अभिकर्ताहरू, कर्मचारीहरू, सेयरधनीहरू, नियामक निकायहरू तथा यस उपलब्धिलाई सम्भव बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्याउने सम्पूर्ण सरोकारवालाप्रति हार्दिक आभार व्यक्त गरे ।
२५ वर्षदेखि विश्वास, सेवा र उत्कृष्टताको यात्रालाई निरन्तरता दिँदै आएको यस कम्पनीले प्राप्त गरेको यो ऐतिहासिक उपलब्धिले नेपालको जीवन बिमा उद्योगमा नयाँ मानक स्थापित गरेको छ। कम्पनीले आगामी दिनमा अझ थप प्रविधिमैत्री तथा ग्राहकमैत्री सेवा, नवीन बिमा योजनाहरू, प्रभावकारी लगानी व्यवस्थापन, कर्मचारी तथा अभिकर्ताहरूको क्षमता अभिवृद्धि तथा विश्वस्तरीय बिमा सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
कम्पनीले २५ वर्षको विश्वास, आज १३ अर्बको ऐतिहासिक उपलब्धिलाई सम्पूर्ण ग्राहक, अभिकर्ता, कर्मचारी, सेयरधनी तथा सरोकारवालाहरूको साझा सफलताका रूपमा ग्रहण गर्दै आगामी दिनमा पनि नेपाली जीवन बिमा क्षेत्रको अग्रणी संस्थाका रूपमा ऐतिहासिक उपलब्धिहरूको निरन्तरता कायम गर्दै अघि बढ्ने विश्वास व्यक्त गरेको छ।