ताप्लेजुङ जिल्लामा सम्बन्धविच्छेदका मुद्दाको संख्या उच्च देखिएको छ। जिल्ला अदालत ताप्लेजुङमा आर्थिक वर्ष ०८२/८३ मा दर्ता भएका नयाँ मुद्दामध्ये करिब ७५ प्रतिशत सम्बन्धविच्छेदसम्बन्धी रहेका छन्।
जिल्ला न्यायाधीश विकास श्रेष्ठका अनुसार चालू आर्थिक वर्षमा दर्ता भएका ४२० नयाँ मुद्दामध्ये ३१९ वटा सम्बन्धविच्छेदका हुन्। तीमध्ये २६४ वटा मुद्दा फर्स्याेट भइसकेका छन् भने ५५ वटा मुद्दा आगामी आर्थिक वर्ष०८३/८४ मा जिम्मेवारी सरेका छन्।
यसैबिच, जिल्ला अदालत ताप्लेजुङ चालू आर्थिक वर्षमा लक्ष्यभन्दा बढी मुद्दा फर्स्याेट गर्न सफल भएको छ। अदालतले वर्षभरिमा ६८ प्रतिशत मुद्दा फर्स्याेट गर्ने लक्ष्य राखेकोमा ७३.५ प्रतिशत मुद्दा फर्स्याेट गरेको हो।
अदालतका श्रेस्तेदार शम्मी कपुर शाहका अनुसार आर्थिक वर्ष ०८१/८२ बाट जिम्मेवारी सरी आएका १५९ तथा चालू आर्थिक वर्षमा दर्ता भएका ४२० गरी कुल ५७९ मुद्दामध्ये ४२३ वटा फर्स्याेट भएका छन्। बाँकी १५६ वटा मुद्दा आगामी आर्थिक वर्ष ०८३/८४ मा जिम्मेवारी सरेका छन्।
गत आर्थिक वर्षबाट सरी आएका १५९ मुद्दामध्ये १३७ वटा तथा चालू आवमा दर्ता भएका ४२० मुद्दामध्ये २८६ वटा फर्स्याेट गरिएको अदालतले जनाएको छ।
अदालतका सूचना अधिकारी तथा तहसिलदार सागर भण्डारीका अनुसार बाँकी रहेका १५६ मुद्दामध्ये ६ महिनाभित्रका ८९, ६ महिनादेखि एक वर्षभित्रका ४५, एक वर्षदेखि १८ महिनाभित्रका २१ र १८ महिनादेखि दुई वर्षभित्रको एक मुद्दा रहेका छन्।
जिल्ला न्यायाधीश विकास श्रेष्ठले फैसला कार्यान्वयनतर्फ कैद तथा जरिवाना असुलीमा अपेक्षाअनुसार प्रगति हुन नसके पनि अदालतको समग्र कार्यसम्पादन सन्तोषजनक रहेको बताए। उनका अनुसार ८० प्रतिशतभन्दा बढी प्रगति हासिल गर्ने जिम्मेवारीमध्ये अदालतले ६५.७१ प्रतिशत प्रगति हासिल गरेको छ।
उनले भने, ‘कैद र जरिवाना असुलीतर्फ अपेक्षाअनुसार प्रगति हासिल हुन सकेन। तर, मुद्दा फर्स्याेटतर्फको उपलब्धि सकारात्मक रहेको छ।’
कैद र जरिवाना असुलीमा अपेक्षाकृत कम प्रगति
अदालतमा रहेको कैदको कुल लगत एक हजार ५२६ वर्ष चार महिना आठ दिन रहेकोमा आर्थिक वर्ष ०८२/८३ मा ४०६ वर्ष ६ महिना एक दिनबराबरको कैद फर्स्याेट भएको छ। अझै एक हजार ११९ वर्ष १० महिना सात दिनबराबरको कैद असुल गर्न बाँकी रहेको अदालतले जनाएको छ।
त्यस्तै, जरिवानातर्फ कुल चार करोड ६६ लाख ७६ हजार ७८१ रुपैयाँ लगत रहेकोमा चालू आर्थिक वर्षमा एक करोड ११ लाख ७० हजार ३०१ रुपैयाँ असुल भएको छ। अझै तीन करोड ५४ लाख ९७ हजार ४८० रुपैयाँ जरिवाना असुल हुन बाँकी रहेको छ।
२० हजारभन्दा बढी मिसिल सफ्टवेयरमा अद्यावधिक
डिजिटल अभिलेख व्यवस्थापनलाई प्राथमिकता दिँदै जिल्ला अदालत ताप्लेजुङले मिसिल व्यवस्थापनलाई सफ्टवेयरमा अद्यावधिक गर्ने कार्यलाई तीव्रता दिएको छ।
सूचना अधिकारी भण्डारीका अनुसार अदालतमा रहेका कुल २४ हजार ४६१ मिसिलमध्ये २० हजार ४८ वटा मिसिल सफ्टवेयरमा अद्यावधिक भइसकेका छन्। अदालतले डिजिटल अभिलेख व्यवस्थापनमार्फत सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ।