- इंग्ल्यान्डलाई हराएपछि अर्जेन्टिनी खेलाडीले फकल्यान्ड टापु आफ्नो देशको रहेको दाबी गर्दै ब्यानर प्रदर्शन गरेका थिए । फिफाले खेल क्रममा जाति, वर्ण, हिंसा, राजनीतिक घटनाक्रमलाई जोड्न नमिल्ने जनाएको छ ।
इंग्ल्यान्डलाई हराएर फाइनलमा पुगेको अर्जेन्टिनामाथि फिफाको कारबाहीमा पर्ने जोखिम देखिएको छ । इंग्ल्यान्डमाथिको जितपछि अर्जेन्टिनी खेलाडीको क्रियाकलापका कारण फिफाले अनुशासनको कारबाही गर्न सक्ने बिबिसीले जनाएको छ । खेलपछि अर्जेन्टिनाका खेलाडीले मैदानमा ‘फकल्यान्ड तथा माल्भिनास अर्जेन्टिनाको हो’ भन्ने ब्यानर देखाएका थिए । अहिले सामाजिक सञ्जालमा अर्जेन्टिनाले खेल भावनाविपरीत कार्य गरेको भनी कारबाही गर्न माग भएको छ ।
अर्जेन्टिनाले यस टापुलाई माल्भिनास भन्छ । टापुमाथिको दाबीलाई समर्थन गर्दै ‘लास माल्भिनास सोन अर्जेन्टिनास’ अर्थात् माल्भिनास अर्जेन्टिनाकै हो लेखिएको ब्यानर प्रदर्शन गरेपछि विवाद चुलिएको हो ।
खेलक्रममा दर्शकले यस्तै ब्यानर प्रदर्शन गरेका थिए । तर, खेल सकिएपछि दर्शकबाट अर्जेन्टिनी खेलाडीले ब्यानर ल्याएर मैदानमै फहराए । फिफाको नियमअनुसार कुनै जाति, वर्ण, हिंसा, राजनीतिक घटनाक्रमलाई फुटबलसँग जोड्न मिल्दैन । कसैले यस्तो गरे कारबाही हुने फिफाले जनाएको छ । फकल्यान्ड एटलान्टिक महासागरको एक टापु हो । इंग्ल्यान्ड र अर्जेन्टिनाले यसलाई आ–आफ्नो दाबी गर्दै आएका छन् ।
२ अप्रिल १९८२ मा अर्जेन्टिनाले फकल्यान्ड आफ्नो कब्जामा लियो । १८१६ मा स्पेनबाट स्वतन्त्र भएपछि अर्जेन्टिनाले आफ्नो दाबी गर्दै आएको थियो । त्यसपछि अर्जेन्टिना र बेलायतबिच ७४ दिनसम्म युद्ध भएको थियो । गोर्खाली सेनाको साथमा इंग्ल्यान्डले युद्ध जितेको थियो । यस युद्धम ६५५ अर्जेन्टिनी सैनिक, २५५ बेलायती सैनिक तथा टापुका तीन बासिन्दाको मृत्यु भएको थियो ।
सन् १९८६ मा भएको फिफा विश्वकपको क्वार्टरफाइनलमा इंग्ल्यान्ड र अर्जेन्टिनाबिच प्रतिस्पर्धा भएको थियो । डिएगो म्याराडोनाले ह्यान्ड गोल गर्दा अर्जेन्टिना २–१ ले विजयी भएको थियो । म्याराडोनाले त्यो भगवान्को हात भएको दाबी गरे । उनले फकल्यान्डको युद्धमा पराजित भए पनि फुटबलको मैदानमा पराजित नभएको ठहर गरे । यसपछि यो विषय अझै चर्चित र विवादस्पद बन्यो ।
विश्वकपअन्तर्गत अन्तिम १६ मा इजिप्टलाई ३–२ ले हराएपछि अर्जेन्टिनी खेलाडीले माल्भिनाससँगै म्याराडोना र मेसीको नाम जोडिएका नारा गाएका थिए । अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनल स्कालोनीले सेमिफाइनलअघि फुटबल र राजनीतिलाई नजोड्ने बताएका थिए ।