मिटरब्याजपीडितका प्रतिनिधि र सरकारको वार्ता टोलीबिच पहिलो चरणमा छलफल भएको छ । प्रधानमन्त्री कार्यालयमा भएको छलफल सकारात्मक भएको र शुक्रबार बिहान पुनः छलफल हुने भएको छ ।
सरकारले मिटरब्याजपीडितसँग छलफल गर्न प्रधानमन्त्री कार्यालयका सचिव पुष्कर सापकोटाको अध्यक्षतामा वार्ता टोली गठन गरेको थियो । बिहीबार बाराबाट आएका मिटरब्याजपीडितका प्रतिनिधिसँग सो टोलीले पहिलो चरणको वार्ता गरेको हो ।
वार्ता टोलीका सदस्य रहेका सहसचिव डा. भीष्मकुमार भुसालका अनुसार शुक्रबार बिहान बस्ने गरी बिहीबारको वार्ता सकारात्मक रूपमा टुंगिएको छ । छलफलमा मिटरब्याजसम्बन्धी समस्या समाधानका लागि कानुन संशोधन गर्नेदेखि यससम्बन्धी मुद्दा हेर्न छुट्टै प्राधिकरण स्थापना गर्नेसम्मका विषय उठेका थिए ।
पैदल नै काठमाडौं आउन लागेका पीडितलाई बारामै रोकेर गृहमन्त्री सुधन गुरुङले छलफल गरेका थिए। तीन दिनसम्म भएको छलफलपछि प्रतिनिधिलाई काठमाडौंमा बोलएर छलफल भएको हो । शुक्रबार सहमति हुने सम्भावना रहेको एक अधिकारी बताउँछन् ।