बर्दियामा करिब ८९ लाख रुपैयाँ कृषि अनुदानको सही सदुपयोग हुन सकेको छैन। राजापुर नगरपालिका– ३ टेरियामा रहेको दिदीबहिनी साना किसान कृषि सहकारी संस्था लिमिटेडलाई दिइएको ८८ लाख ५० हजार रुपैयाँ अनुदानको सही सदुपयोग हुन नसकेको हो।
राजापुर र ठाकुरबाबा नगरपालिका तथा गेरुवा गाउँपालिकालाई सरकारले चैते धान जोन घोषणा गरेको छ। सरकारले लगानी गरेसँगै धानको उत्पादन बढेको छ। उत्पादन बढेसँगै धान प्रशोधन गरी चिउरा र भुजा बनाउन करिब ५ वर्ष अघि ५० प्रतिशत अनुदानमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइले दिदीबहिनी साना किसान कृषि सहकारीलाई ७० लाख र १८ लाख ५० हजार गरी कुल ८८ लाख ५० हजार रुपैयाँ अनुदान प्रदान गरेको थियो।
सहकारी संस्थाले मिल सञ्चालन गर्न नसकेपछि अनुदान ‘बालुवामा पानी’ भएको हो। करिब ५ वर्ष हुँदा समेत मिल सञ्चालन हुन सकेको छैन।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ बर्दियाका वरिष्ठ कृषि अधिकृत वीरेन्द्रराज पराजुलीले अनुदान प्राप्त सहकारी संस्थासँग बसेर कसरी मिल सञ्चालन गर्न सकिन्छ भन्ने बिषयमा छलफल गरिएको बताए। उनले भने, ‘ चिउरा मिल सञ्चालन गर्नका लागि कार्यालय लागिरहेको छ।’
दिदीबहिनी साना किसान कृषि सहकारी संस्थाकी अध्यक्ष निता थापाले करिब ५ वर्ष अगाडी अनुदान प्राप्त भएपछि एकपटक मात्र मिल सञ्चालनमा आएको बताइन्। उनले भनिन्, ‘प्राविधिक कारणले मिल सञ्चालन गर्न नसके पनि आगामी वर्षबाट मिल सञ्चालन गर्ने तयारी गरिरहेका छौँ।’
सरकारले दिँदै आएको अनुदानको नियमित अनुगमन र दिगोपना नहुँदा अनुदानको सही सदुपयोग नभएको भन्दै आलोचना हुँदै आएको छ।