रुपन्देहीको ओमसतिया गाउँपालिका– २, सरस्वती टोलस्थित सिद्धार्थ राजमार्गमा भैरहवाबाट बुटवलतर्फ जाँदै गरेको लु१ख ८९९० नम्बरको माइक्रोबस अनियन्त्रित भई पल्टिँदा सहचालकको मृत्यु भएको छ भने सातजना यात्रु घाइते भएका छन्।
दुर्घटनामा माइक्रोबसका सहचालक बुटवल उपमहानगरपालिका– ३ निवासी ३० वर्षीय सन्दीप बराल गम्भीर घाइते भएका थिए। टाउकोमा गम्भीर चोट लागेका उनको उपचारका क्रममा भीम अस्पताल, भैरहवामा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा सिद्धार्थनगर नगरपालिका– ८ निवासी ५० वर्षीया कृष्णकुमारी बेलवासे, ३४ वर्षीया श्रद्धा जोशी, कपिलवस्तुको शिवराज नगरपालिका– २ निवासी १९ वर्षीय प्रकाश गाहा, पाल्पाको रिब्दीकोट गाउँपालिका– ६ निवासी ३८ वर्षीय सुनील थापा, सिद्धार्थनगर नगरपालिका– ३ दरखसवा निवासी २६ वर्षीय कुलदीप गुप्ता, मर्चवारी गाउँपालिका– ७ बडबलिया निवासी ५५ वर्षीया शाहाबुन निसा तथा नवलपरासीको सुनवल नगरपालिका– ६ निवासी ४१ वर्षीया हेमिसरा खाम्चा घाइते भएका छन्।
घाइतेमध्ये कृष्णकुमारी बेलवासेलाई थप उपचारका लागि सिटी अस्पताल, भैरहवा र हेमिसरा खाम्चालाई क्रिमसन अस्पताल, मणिग्राम रिफर गरिएको छ। अन्य घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि फरार भएका माइक्रोबस चालक तिलोत्तमा नगरपालिका– ६ गणेशपुर निवासी ४६ वर्षीय छविलाल थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।