आकर्षक तलबसहित वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन देखाएर लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भक्तपुर सूर्यविनायक नगरपालिका– ९ बस्ने दोलखा शैलुङ गाउँपालिका– ४ स्थायी घर भएका ३९ वर्षीय दावा योञ्जन र काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका– ८ बस्ने बारा आदर्श कोटवाल गाउँपालिका– ४ स्थायी घर भएका २७ वर्षीय अनिलकुमार यादव रहेका छन्।
प्रहरीका अनुसार दावा योञ्जनले सर्विया र संयुक्त अरब इमिरेट्स (युएई) पठाइदिने भन्दै साजना पीडितबाट कुल ११ लाख ४५ हजार रुपैयाँ असुलेका थिए। त्यसैगरी, अनिलकुमार यादवले मलेसिया पठाइदिने भन्दै दुईजना पीडितबाट दुई लाख ८७ हजार रुपैयाँ ठगी गरेको आरोप छ।
पक्राउ परेका दुवैजनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।