नेपाल उद्योग व्यापार महासंघको पाँचौँ स्थापना दिवसको अवसरमा उद्योग व्यापार संघ कपिलवस्तुले सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै कपिलमुनि वैदिक विद्यापीठ, कपिलधामलाई दैनिक आवश्यक उपभोग्य सामग्री हस्तान्तरण गरेको छ।
संघका अध्यक्ष टोपनारायण बेल्वासेले महासंघको स्थापना दिवसलाई औपचारिक कार्यक्रममै सीमित नराखी समाजप्रति उत्तरदायी हुने उद्देश्यले सहयोग प्रदान गरिएको बताए। उनका अनुसार संस्थाको स्थापना कालदेखि नै उद्योग व्यापार संघ कपिलवस्तु व्यावसायिक हितसँगै सामाजिक सेवामा सक्रिय रहँदै आएको र जिल्लाकै अग्रणी व्यावसायिक तथा सामाजिक संस्थाका रूपमा आफ्नो पहिचान स्थापित गर्न सफल भएको बताएका छन्। कार्यक्रममा कपिलमुनि वैदिक विद्यापीठ, कपिलधामका अध्यक्ष शंकर आचार्यलाई खाद्यान्न तथा अन्य दैनिक आवश्यक सामग्री हस्तान्तरण गरिएको बताएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष टोपनारायण बेल्वासेले भने, ‘हामी व्यवसाय मात्र गर्ने होइन, समाजप्रति पनि हाम्रो दायित्व छ भन्ने भावनाका साथ निरन्तर सामाजिक गतिविधिमा सक्रिय छौँ। समाज र देशका लागि केही गरौँ भन्ने हुटहुटी बोकेका व्यवसायी साथीहरूको एकताबद्ध प्रयासकै कारण यस्ता सेवामूलक कार्यक्रमहरू सफल हुँदै आएका छन्। आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई अझ प्रभावकारी रूपमा अघि बढाउँछाैँ।’
सहयोग ग्रहण गर्दै कपिलमुनि वैदिक विद्यापीठ, कपिलधामका अध्यक्ष शंकर आचार्यले उद्योग व्यापार संघ कपिलवस्तुले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै भने, ‘धार्मिक तथा शैक्षिक संस्थाहरूलाई समुदायको साथ र सहयोग आवश्यक हुन्छ। उद्योग व्यापार संघ कपिलवस्तुले स्थापना दिवसको अवसरमा देखाएको यो सहयोगी भावना अत्यन्त प्रशंसनीय छ। यसले सामाजिक सहकार्य र मानवीय सेवाको सन्देश प्रवाह गरेको छ ।’
नेपाल उद्योग व्यापार महासंघको पाँचौँ स्थापना दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममार्फत संस्थाले महासंघप्रति शुभकामना व्यक्त गर्दै सहयोगी, शुभेच्छुक तथा सम्पूर्ण व्यवसायी सदस्यहरूप्रति हार्दिक आभार तथा धन्यवादसमेत प्रकट गरेको छ। संस्थाले आगामी दिनमा पनि व्यावसायिक विकाससँगै शिक्षा, सामाजिक सेवा र मानवीय सहयोगका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।