सरकारले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिस्टार नियुक्ति गरेसँगै विशिष्टीकृत गेटा मेडिकल कलेजमा चिकित्सा शिक्षाका कार्यक्रम यसै वर्षदेखि नै सञ्चालन गर्ने तयारी गरिएको छ । हाल विश्वविद्यालयले मेडिकल सिट निर्धारणका लागि चिकित्सा शिक्षा आयोगलाई पत्राचारसमेत गरिसकेको छ । सरकारले बुधबार विश्वविद्यालयको उपकुलपतिमा प्राडा सुनीलकुमार जोशी र रजिस्टारमा डा. भीम चन्दलाई नियुक्त गरेको हो ।
उपकुलपति र रजिस्टार नियुक्तिसँगै अब विश्वविद्यालय र त्यसअन्तर्गतको गेटा मेडिकल कलेजमा शैक्षिक कार्यक्रम सञ्चालन प्रक्रियाले लय लिएको छ । सरकारले जारी गरेको अध्यादेशसँगै देशभरका सबै विश्वविद्यालयका पदाधिकारी पदमुक्त बनेका थिए । हालसम्म सरकारले नौवटा विश्वविद्यालय र ६ वटा प्रतिष्ठानमा उपकुलपति नियुक्ति गरिसकेको छ । उपकुलपति छनोट तथा नियुक्तिका लागि सरकारले गठन गरेको उच्चस्तरीय सिफारिस समितिले अन्तर्वार्ता र प्रस्तुति पनि कुलपति प्रधानमन्त्रीसमक्ष नाम सिफारिस गरेको थियो । सोही आधारमा प्रधानमन्त्री बालेन्द्र शाहले उपकुलपति नियुक्त गरेका हुन् ।
हाल उपकुलपति बनेका प्राडा जोशी यसअघि पनि यही विश्वविद्यालयको संस्थापक उपकुलपति नै थिए । यसअघि उनले विश्वविद्यालयको भौतिक पूर्वाधार र जनशक्तिका लागि पहल गरेका थिए । विश्वविद्यालय सञ्चालनका लागि नौवटा नियमावलीसमेत तयार पारिएको छ । कानुनी र भौतिक रूपमा पूर्णता पाएपछि विश्वविद्यालयले एमबिबिएससहित चिकित्सा शिक्षाका चारवटा शैक्षिक कार्यक्रम सञ्चालन गर्नेछ । त्यस्तै, विश्वविद्यालयको रजिस्टार बनेका डा. भीम चन्दले यसअघि निजी तथा संस्थागत स्वास्थ्य क्षेत्रको व्यवस्थापनमा काम गरेका थिए । उनले हस्पिटल म्यानेजमेन्टमा विद्यावारिधि गरेका छन् भने नेपाल मेडिकल काउन्सिलको सदस्यसमेत थिए । पिपुल्स डेन्टल कलेजको प्रमुख कार्यकारी अधिकृत भएर १२ वर्ष काम गरेका चन्दले गेटा मेडिकल कलेजको योजनामा समेत प्राविधिक समितिमा बसेर काम गरेका थिए ।
सुदूरपश्चिम क्षेत्रमा सञ्चालन गरिएको विश्वविद्यालयले नयाँ नेतृत्व पाएसँगै यस क्षेत्रको मेडिकल शिक्षा र स्वास्थ्य उपचार सेवा सहज हुने विश्वास लिइएको छ । यस विश्वविद्यालयअन्तर्गत गेटा मेडिकल कलेज सञ्चालनका लागि सरकारबाट स्वीकृति दिइसकिएको छ । अब यहाँ मेडिकल शिक्षा मात्रै नभएर उपचार सेवा पनि प्र्रभावकारी बन्ने बताइएको छ ।
नवनियुक्त रजिस्टार चन्दले यसै वर्षदेखि चारवटा चिकित्सा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने बताए । जसमा एमबिबिएस ५० सिट, बिएस्सी नर्सिङ ३० सिट, बिएस्सी एमएचडी २० सिट र बिएस्सी अप्रोमेटिभ २ को शैक्षिक कार्यक्रम सञ्चालन हुनेछ । विश्वविद्यालयले सिट स्वीकृतिका लागि चिकित्सा शिक्षा आयोगमा पत्राचारसमेत गरेको छ । ‘यसै वर्षदेखि नै चारवटा कार्यक्रमका लागि चिकित्सा आयोगमा सिट स्वीकृत माग गरिसकेका छौँ,’ उनले भने, ‘शैक्षिक कार्यक्रमका लागि बजेट पनि विनियोजना भएको छ, आगामी वर्षमा थप्दै १२ वटा चिकित्सा शिक्षाका कार्यक्रम सञ्चालन गर्छौँ, त्यसमा स्नातक तह र स्नाकोत्तर तहका अधिकांश मेडिकल शिक्षाका कार्यक्रम सञ्चालन हुनेछन् ।’
उनका अनुसार गेटा विशिष्टीकृत शिक्षण अस्पताल हो । हाल यसको सिट क्षमता तीन सय शङ्ढयाको छ । तर, विश्वविद्यालयले शङ्ढया विस्तार गरेर आगामी चार वर्षभित्र एक हजार शङ्ढयाको शिक्षण अस्पताल बनाउनेछ ।
मेडिकल शिक्षाका विद्यार्थीलाई राहत
हाल नेपालमा मेडिकल शिक्षा पढ्न निकै कठिन छ । चिकित्सा शिक्षा आयोगले सबै गरेर वार्षिक रूपमा दुई हजार दुई सय सिट निर्धारण गर्छ । तर, उक्त मेडिकल शिक्षा कार्यक्रमका लागि फाराम भर्ने विद्यार्थी संख्या आठ हजारभन्दा बढी हुन्छन् । नेपालमा मेडिकल शिक्षामा कोटा कम भएका कारण कतिपय विद्यार्थी महँगो शुल्क तिरेर भारतका मेडिकल कलेजहरूमा अध्ययन गर्न पुग्ने गरेका छन् ।
‘हाल नेपालमा मेडिकल शिक्षामा सिट कम छ, यसलाई बढाउन आवश्यक छ, किनभने यहाँका विद्यार्थी भारतीय मेडिकल कलेजमा पढ्न जाने बाध्यता राम्रो होइन, त्यसलाई रोक्नुपर्छ,’ रजिस्टार चन्दले भने, ‘गेटा मेडिकल कलेजमा थपिएका मेडिकल शिक्षा सिट कार्यक्रमले विद्यार्थीलाई केही राहत पक्कै मिल्छ, अर्कातर्फ सुदूरपश्चिम क्षेत्रका बासिन्दालाई स्वास्थ्य उपचारमा सहजका साथै चिकित्सा शिक्षाको जनशक्ति तयार गर्न पनि गेटाले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।’