प्रदेशमा देखिएको राजनीतिक भाँडभैलोले के संकेत गर्छ ?
यो सब कांग्रेस र एमालेजस्ता पुराना दल नसुध्रिएको संकेत हो । देशमा यति ठुलो उथलपुथल भयो । जेन–जी आन्दोलनले देशको राजनीतिक कोर्स नै बदलिदियो । विगतमा आलोपालो सत्तामा रजाइँ गरिरहेका दलहरू प्रतिपक्षमा मात्र सीमित भए । तिनले सत्तामा चलखेल गर्न सक्ने हैसियत गुमाए । तैपनि, उनीहरूमा चेत घुसेको देखिन्न । यतिखेर अबको छोटो समयका लागि प्रदेशमा न नेतृत्व फेर्न जरुरी थियो, न त गठबन्धन फेरबदल गर्न नै आवश्यक थियो । जसले, जहाँ र जुन हैसियतमा नेतृत्व गरिरहेको छ, उसले त्यहीँ बसेर राम्रो काम गरेर जनताको मन जित्नुपर्ने वेलामा यसरी सत्ताको लुछाचुँडीमा दलहरू रमाउन थाले भने यसबाट आमनागरिकमा थप निराशा जन्मिन्छ र त्यसको असर आगामी प्रदेश र स्थानीय तहको निर्वाचनमा देखिन सक्छ ।
पुराना दलहरू किन यस्तो बांगोटिंगो बाटो हिँडिरहेका होलान् ?
विगतमा तीन पुराना दलका नेताले गर्नु–नगर्नु सबै गरे । आज एउटासित कुम जोडेर गठबन्धन गरे भने अर्को दिन त्यसलाई भत्काएर अर्कोसित अंकमाल गर्दै नयाँ गठबन्धन बनाए । जसले आमनागरिकमा चरम निराशा र आक्रोश जन्मायो । यतिखेर एकातिर दुईतिहाइ मतसहित सत्तामा रहेको दल रास्वपाको संघीयताप्रतिको बुझाइ प्रस्ट छैन । अर्कातिर पुराना दलले प्रदेशमा देखाएको सत्ताको लुछाचुँडीले संघीयताप्रति थप प्रश्न उठिरहेको छ । तैपनि, पुराना दलले नचेतेको देख्दा उदेक लाग्छ ।
प्रदेशको राजनीतिलाई स्थायित्व दिन के गर्नुपर्ला त ?
प्रदेशमा बसेर राम्रो काम गरेर देखाउनुपर्ने वेलामा सबैलाई मुख्यमन्त्री या मन्त्री पद चाहिएको छ । यसबाट प्रदेशको अस्तित्वमाथि नै प्रश्न उठ्न सक्छ । त्यसैले, अहिले संविधान संशोधनको चर्चा चलिरहेको समयमा प्रदेशमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीको व्यवस्था गर्न सके आगामी दिनमा प्रदेशको राजनीतिले स्थायित्व पाउन सक्छ ।