राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्यले संसद्को कामकारबाही र प्रभावकारिताको गम्भीर समीक्षा गर्नुपर्ने वेला आएको भन्दै सभामुखको ध्यानाकर्षण गराएका छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा आचार्यले सरकारको कामकारबाहीबारे ‘हनिमुन पिरियड’को समीक्षा गर्ने चलन भए पनि संसद्को हकमा त्यस्तो अभ्यास नभएकाले अब संसद्ले पनि आफ्नो समीक्षा गर्ने वेला भएको प्रस्ट पारे।
‘एउटा सशक्त र समृद्ध संसद् यस्तै हुन्छ कि हाम्रो सामूहिक मिहिनेत पुगेन ? संसद् नागरिकको निराशालाई आशामा बदल्ने ठाउँ पनि हो। त्यसैले हामी सही दिशामा छौँ कि छैनौँ, यी सबै विषयको समीक्षा गर्नका लागि म सम्माननीय सभामुखसँग आग्रह गर्दछु,’ उनले भने।
सांसदहरूको उपस्थिति, संशोधनका कारण विधेयकमा भएको सुधार, संसदीय समितिहरूको कामकारबाही, शून्य, विशेष र आकस्मिक समयमा उठाइएका विषयको सम्बोधन, प्रतिनिधिसभा नियमावलीको पालनालगायत समग्र विषयमा समीक्षा गर्न आवश्यक रहेको उनले औँल्याए।