मेटलाइफ नेपाल र त्रिभुवन विश्वविद्यालयबिच समझदारी भएको छ । कम्पनी र त्रिविको स्कुल अफ म्याथमेटिकल साइन्स (एसएमएस)बिच नेपालको भावी एक्चुरी पेसाकर्मी उत्पादन गर्ने उद्देश्यसहित छात्रवृत्ति कार्यक्रम सुरु गर्न साझेदारी गरिएको हो ।
बिमा तथा वित्तीय सेवा क्षेत्रमा एक्चुरियल विज्ञान महŒवपूर्ण भए पनि यस क्षेत्रमा दक्ष जनशक्तिको अभाव रहेको बताइएको छ । यही आवश्यकतालाई सम्बोधन गर्दै सुरु गरिएको यस योग्यतामा आधारित छात्रवृत्ति कार्यक्रमअन्तर्गत प्रत्येक वर्ष दुईजना उत्कृष्ट विद्यार्थीलाई स्नातक तहको चारवर्षे अध्ययन अवधिभर छात्रवृत्ति प्रदान गरिनेछ ।
छात्रवृत्तिका लागि विद्यार्थीको छनोट पारदर्शी मूल्यांकन प्रक्रियामार्फत गरिने कम्पनीको भनाइ छ । छनोट भएका विद्यार्थीको चारवर्षे अध्ययन अवधिका प्रत्येक सेमेस्टरको शुल्क मेटलाइफ नेपालले व्यहोर्नेछ । सरकारी विद्यालयबाट अध्ययन गरेका विद्यार्थीलगायत विभिन्न शैक्षिक पृष्ठभूमिका प्रतिभाशाली विद्यार्थीले पनि यस कार्यक्रममा समान अवसर प्राप्त गर्नेछन् ।
आर्थिक सहयोगसँगै, यस सहकार्यले शैक्षिक संस्था र उद्योगबिच सुदृढ सम्बन्ध स्थापना गर्दै व्यावहारिक सिकाइ, इन्टर्नसिप तथा व्यावसायिक अनुभव हासिल गर्ने अवसर प्रदान गर्नेछ, जसले विद्यार्थीलाई जोखिम व्यवस्थापन र बिमा क्षेत्रका वास्तविक चुनौतीको सामना गर्न सक्षम बनाउने कम्पनीको विश्वास छ ।