बैंककको एक पबमा भएको आगजनीमा मर्नेको संख्या ३० पुगेको छ । स्थानीय जिल्ला कार्यालयले मंगलबार बताएअनुसार सोमबार बिहान लागेको विनाशकारी आगलागीमा परेका थप तीनजनाको मृत्यु भएको छ । विपत् अधिकारीहरूले गरेको प्रारम्भिक अनुसन्धानमा पबको छतमा रहेको ‘एयर कन्डिसनर(एसी)’मा विद्युत् सर्ट–सर्किटका कारण आगलागी भएको पत्ता लागेको छ ।
अधिकारीहरूले २७ जना मृतकको पहिचान पुष्टि गरेका छन् भने तीनजनाको पहिचान हुन बाँकी छ । मर्ने धेरैजसो थाई नागरिक भएको विश्वास गरिएको छ । घाइतेमध्ये २४ जनाको अवस्था गम्भीर छ भने अरू १५ जनालाई मध्यम चोट लागेको छ । ३६ जना भने सामान्य उपचारपछि घर फर्किएको अधिकारीले बताए ।
थाइल्यान्डका प्रहरी प्रमुख कित्राट फानफेटले सोमबार पत्रकार सम्मेलनका क्रममा प्रहरी अनुसन्धानले घटनाको मुख्य कारण पब सञ्चालकको लापरबाही भएको देखिएको बताए । धेरैजसो मृतक पबको पछाडि भागको झ्यालविहीन बाथरुममा बेहोस् अवस्थामा भेटिएको कित्राटले बताए ।
त्यसै बाथरुमको छेउमा एउटा निकास रहेको, तर त्यसको छेउमा क्यान्डी बेच्नका लागि टेबल राखिएकाले मानिसहरूलाई अँध्यारोमा समयमा त्यहाँ बाहिरिने ठाउँ रहेको थाहा नभएको हुन सक्ने उनले बताए ।
सोमबार घटनास्थल पुगेका प्रहरी प्रमुख कित्राटले पबको भान्साकोठानजिकै अर्को निकास पनि रहेको, तर त्यो पनि सेल्फिङ युनिट र लकरका कारण साँघुरो भएको बताए । प्रहरीले अहिले पबमा राम्रो निकासा नराखेकोमा पबका मालिकमाथि अनुसन्धान सुरु गरेका छन् । पब सञ्चालकले अनुसन्धानमा सहयोग गर्ने बताएका छन् ।