इंग्ल्यान्डका नाइट क्लबमा कडा सुरक्षा

बुधबार, ३१ असार, २०८३
डिजिटल संस्करण

चालू विश्वकपमा इंग्ल्यान्डले सेमिफाइनलमा अर्जेन्टिनाको सामना गर्दै छ । सन् १९६६ पछि विश्वकप ट्रफी उचाल्ने दुई खेल टाढा रहँदा इंग्ल्यान्डका समर्थक दंग छन् । इंग्ल्यान्डको धेरैजसो नाइट क्लब र खुला स्थानमा खेल प्रसारण भइरहेको छ । अहिले सेमिफाइनलमा ती स्थानमा समर्थकहरूको उपस्थित बाक्लो हुने अपेक्षा छ ।

इंग्ल्यान्डको नतिजा जस्तो आए पनि समर्थकहरू उग्र हुन सक्ने अनुमान लन्डन प्रहरीले गरेका छन् । अर्जेन्टिनालाई हराउँदा इंग्लिस समर्थक मात्तिने र पराजित हुँदा उग्र हुने सम्भावना भएकाले सुरक्षा व्यवस्था कडा बनाइएको लन्डन प्रहरीले जनाएको छ । ‘यो दुवै अवस्थाको मध्यनजर गरी हामीले अघिल्लो खेलको भन्दा सुरक्षा संख्या दोब्बर बनाएका छौँ,’ लन्डन प्रहरीका अधिकारीले भने, ‘हामी कुनै अप्रिय घटना नहोस् भन्ने चाहन्छौँ ।’ 

नर्वेलाई अतिरिक्त समयमा २–१ ले हराउँदै इंग्ल्यान्डले सेमिफाइनल स्थान बनाउँदा प्रहरीले सयजना उग्र समर्थकलाई पक्रेका छन् । प्रहरीका अनुसार सेमिफाइनल खेलमा यो संख्या बढ्न सक्छ । ‘हाम्रो प्रयास सबैलाई शान्तिपूर्वक समर्थकलाई खेल देखाउने हो । धेरै समर्थक रहँदा अप्रिय घटना हुन सक्छ,’ युके फुटबलले जनाएको छ, ‘यसको व्यवस्था गर्न प्रहरीलाई अनुरोध हामीले गरेका छौँ ।’ 

सुझावित समाचार