सल्यानका अधिकांंश स्थानीय तहको पुँजीगत खर्च न्यून

मंगलबार, ३० असार, २०८३
डिजिटल संस्करण

सल्यानका अधिकांश स्थानीय तहमा विकास निर्माणका लागि विनियोजन गरिएको पुँजीगत बजेटको खर्च न्यून देखिएको छ। आर्थिक वर्ष ०८२/८३ को अन्तिम वित्तीय प्रगति विवरणअनुसार अधिकांश स्थानीय तहले पुँजीगत खर्च ८० प्रतिशतभन्दा कम गरेका छन् भने चालूतर्फको खर्च भने ८५ देखि ९३ प्रतिशतसम्म पुगेको छ ।

सडक, भवन, खानेपानी, सिँचाइ तथा अन्य पूर्वाधार निर्माणका योजनाका लागि छुट्याइएको बजेट पूर्ण रूपमा कार्यान्वयन हुन नसक्दा विकास निर्माणको गति अपेक्षाअनुसार अघि बढ्न नसकेको देखिएको छ ।सल्यानका १० स्थानीय तहमध्ये सात स्थानीय तहले मात्र वित्तीय प्रगति विवरण सार्वजनिक गरेका छन् । शारदा नगरपालिका, बागचौर नगरपालिका र सिद्धकुमाख गाउँपालिका वित्तीय प्रगति सार्वजनिक गरेका छैनन् । 

उपलब्ध विवरणअनुसार कुमाख गाउँपालिकाले चालूतर्फ ८३.३६ प्रतिशत खर्च गरेको भए पनि पुँजीगत खर्च ५३.१८ प्रतिशत मात्र गरेको छ । विकास निर्माणका लागि विनियोजन गरिएको बजेटको झन्डै आधा रकम खर्च हुन बाँकी रहेको देखिन्छ ।
वनगाड कुपिन्डे नगरपालिकाले कुल ७९ करोड रुपैयाँ बजेटमध्ये ६२ करोड ३७ लाख ४५ हजार ३९९ रुपैयाँ खर्च गर्दै ७८.८७ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । चालुतर्फ ८५.८४ प्रतिशत खर्च भएको छ भने पुँजीगत खर्च ७८.८७ प्रतिशत रहेको छ ।

त्रिवेणी गाउँपालिकाले चालूतर्फ ८५.०४ प्रतिशत खर्च गरेको छ भने पुँजीगत खर्च ६६.९५ प्रतिशतमा सीमित रहेको छ । चालू खर्चको तुलनामा पुँजीगत खर्च करिब १८ प्रतिशतले कम रहेको देखिएको छ ।कालीमाटी गाउँपालिकाले चालूतर्फ ८९.६४ प्रतिशत र पुँजीगततर्फ ७८.५० प्रतिशत खर्च गरेको छ । गाउँपालिकाको समग्र वित्तीय प्रगति ८६.४१ प्रतिशत रहेको छ । छत्रेश्वरी गाउँपालिकाले कुल ५२ करोड ७५ लाख २८ हजार १९४ रुपैयाँ बजेटमध्ये ४४ करोड ७१ लाख ३८ हजार ७७८ रुपैयाँ खर्च गर्दै ८४.७६ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । चालूतर्फ ९०.६३ प्रतिशत खर्च भएको छ भने पुँजीगत खर्च ७२.७० प्रतिशत मात्र रहेको छ ।

दार्मा गाउँपालिकाले कुल ४६ करोड ३६ लाख रुपैयाँ बजेटमध्ये ४० करोड २५ लाख ७८ हजार ५२७ रुपैयाँ खर्च गरी ८६.८३ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । चालूतर्फ ८७.५९ प्रतिशत खर्च भएको भए पनि पुँजीगत खर्च ७५.३४ प्रतिशतमा सीमित रहेको छ ।

कपुरकोट गाउँपालिकाले चालूतर्फ ९२.८५ प्रतिशत र पुँजीगततर्फ ८९.४६ प्रतिशत खर्च गरेको विवरण सार्वजनिक गरेको छ । यद्यपि, विनियोजनका आधारमा हेर्दा गाउँपालिकाको समग्र वित्तीय प्रगति ८३.३३ प्रतिशत रहेको छ । वित्तीय प्रगति विवरणले स्थानीय तहहरूले नियमित प्रशासनिक तथा सेवा प्रवाहसम्बन्धी खर्चलाई प्राथमिकता दिए पनि विकास निर्माणका आयोजना समयमै सम्पन्न गर्न अझै चुनौती रहेको देखाएको छ । पुँजीगत खर्च अपेक्षाअनुसार हुन नसक्दा पूर्वाधार निर्माण, सेवा विस्तार तथा विकास योजनाको प्रभावकारितामा प्रत्यक्ष असर पर्ने देखिएको छ । 
 

सुझावित समाचार