राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश कार्कीले संसद् तथ्य, सत्य र यथार्थका आधारमा सञ्चालन हुनुपर्ने भन्दै लोकतन्त्रलाई मिथ्यांक र राजनीतिक स्वार्थको माध्यम बनाउन नहुने बताएका छन्।
प्रतिनिधिसभाको विशेष समयमा बोल्दै कार्कीले संसद्को मूल दायित्व कानुन निर्माण गर्नु, सरकारको निगरानी गर्नु र जनताको आशा तथा अपेक्षाको प्रतिनिधित्व गर्नु रहेको बताए। उनका अनुसार संसदले वर्तमान पुस्ताको सुख–समृद्धिसँगै भविष्यका पुस्ताका लागि पनि सम्भावना सुरक्षित गर्ने गरी कानुन निर्माण गर्नुपर्छ।
अहिले मुलुकले अपेक्षा गरेको लोकतान्त्रिक अभ्यासभन्दा फरक दिशामा अघि बढिरहेको टिप्पणी गर्दै तथ्य र धरातलमा आधारित बहसको आवश्यकता उनले औँल्याए।
कार्कीले सुस्ता क्षेत्रको सीमा जोगाउने क्रममा ०४० सालमा गोली लागेका मुन्ना खानको प्रसंग उठाउँदै, शरीरमा गोलीका दाग बोकेर पनि वर्षौँदेखि नागरिकताविहीन रहनु विडम्बनापूर्ण भएको बताए। उनले लोकतन्त्रको नाममा त्यस्ता नागरिकको सम्मान गर्न नसकिएको भन्दै यसप्रति सरकार र संसद् गम्भीर हुनुपर्ने धारणा राखे।
पछिल्ला तीन दिनमा भएका आत्मदाहका घटनाबारे पनि उनले टिप्पणी गर्दै सीमित घटनालाई मात्र राजनीतिक रूपमा प्रस्तुत गर्नु उचित नहुने बताए। उनले ६० जनामध्ये तीन जनाको घटनालाई मात्र छनोट गरेर व्याख्या गरिनु दृष्टिभ्रम वा राजनीतिक अभीष्ट हुन सक्ने आशंका व्यक्त गरे।
गरिबीलाई मात्र आत्महत्याको कारणका रूपमा प्रस्तुत गर्नु गलत हुने उनको भनाइ थियो। उनले विश्वकै सबैभन्दा खुसी राष्ट्र मानिने फिनल्यान्डमा पनि आत्महत्याको दर उल्लेखनीय रहेको उदाहरण दिँदै आत्महत्याका कारण बहुआयामिक हुने बताए।
त्रिपुरेश्वरमा आत्मदाह गर्ने व्यक्तिको नाम सबैलाई थाहा भए पनि त्यही समयमा धोबीखोलामा डुबेर ज्यान गुमाएका व्यक्तिबारे कसैले चर्चा नगरेको उल्लेख गर्दै उनले घटनाहरूलाई राजनीतिक सन्दर्भमा मात्र हेर्ने प्रवृत्तिको आलोचना गरे।
सांसद कार्कीले विशेष समयको उपयोग सिद्धान्त, नीति र दर्शनमाथिको गम्भीर बहसका लागि हुनुपर्ने बताए।