‘एउटा लासमाथि राजनीति गर्नेले ४२ जना निर्दाेष बच्चालाई गोली ठोक्दा किन एक शब्द बोलिएन ?’

मंगलबार, ३० असार, २०८३
डिजिटल संस्करण

जेन–जी सहिद आमा रचना खतिवडाले एउटा लासमाथि राजनीति गर्नेहरूले जेन–जी आन्दोलनमा तत्कालीन सरकारले ४२ जना निर्दोष बालबालिकामाथि गोली चलाइँदा अहिलेका प्रतिपक्षको ओठ किन चुप थियो भनेर प्रश्न गरेकी छिन्।  मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद खतिवडाले कुनै पनि राजनीतिक दल परिपक्व बन्न नसकेको टिप्पणी गरेकी छिन्। उनले सरकारलाई बलियो बनाएर देश र जनताको हितमा काम गर्नुपर्ने वेला सरकार कसरी गिराउने भन्ने राजनीतिक गतिविधि बढी देखिएको आरोप लगाइन्।

खतिवडाले सहिद र घाइतेलाई न्याय दिलाउने तथा जनताको हितमा काम गर्ने प्रतिबद्धता जनाएका गृहमन्त्री संसदमै भावुक हुनुपर्ने अवस्था सिर्जना भएको बताइन्। उनले एउटा लासमाथि राजनीति नगर्न आग्रह गर्दै जेन–जी आन्दोलनमा तत्कालीन सरकारले ४२ जना निर्दोष बालबालिकामाथि गोली चलाइँदा अहिलेका प्रतिपक्षको ओठ किन चुप थियो भनेर प्रश्न  गरिन्।

उनले आन्दोलनका क्रममा घाइते भएकाहरूले दिनहुँ धेरै पेनकिलर सेवन गरेर पनि पीडा सहन नसकी आत्महत्यासम्म गर्न बाध्य भएको दाबी गर्दै पीडितप्रति राज्य गम्भीर हुनुपर्नेमा जोड दिइन् ।  खतिवडाले वर्तमान सरकारप्रति आफ्नो समर्थन जनाउँदै ‘यो सरकार मुर्दावाद होइन, जिन्दावाद हो’ भन्ने अभिव्यक्ति दिइन्।

सुझावित समाचार