सन् २०३० मा हुने फिफा विश्वकप सय वर्ष पुग्नेछ । विश्वकपको शताब्दी अवसरमा फिफाले ६४ राष्ट्रबिच प्रतिस्पर्धा गराउने तयारी गरेको बिबिसीले जनाएको छ । फिफाको यो अभियान सफल हुँदा पहिलोपटक विश्वकप सर्वाधिक टोलीबिच हुनेछ । चालू विश्वकपमा फिफाले ४८ राष्ट्रबिच गराएको हो । फिफाका अध्यक्ष जियानी इन्फानटिनोले विश्वभरिका राष्ट्र विश्वकपमा पुर्याउने उद्देश्यका साथ नयाँ योजना अगाडि बढाइएको बताए ।
‘विश्वकप सीमित राष्ट्र र महादेशबिच मात्र हुँदा प्रतिस्पर्धात्मक भएको देखिएन । अब हामी विश्वभरका राष्ट्रमा विश्वकपमा सहभागिता गराउने अभियानमा अग्रसर भएका छौँ,’ जियानीले भने । सन् २०३० मा विश्वकपका पहिलो तीन खेल अर्जेन्टिना, पाराग्वे र उरुग्वेमा हुनेछन् । त्यसपछि स्पेन, पोर्चुगल र मोरोक्कोले विश्वकपका बाँकी खेल गर्नेछन् । आधिकारिक रूपमा आगामी चार वर्षको विश्वकप आयोजक युरोप तथा अफ्रिकी महादेश हुन् । तर, विश्वकप सुरु भएको उपलक्ष्यमा फिफाले प्रारम्भिक खेल दक्षिण अमेरिकामा गराउन लागेको हो ।
ल्याटिन अमेरिकामा सुरु भएको विश्वकपको शतवार्षिकी त्यही मनाउनुपर्ने जिआनीले बताए । ‘अर्को चार वर्षमा विश्वकप सय वर्ष पुग्नेछ । जहाँबाट सुरु भएको हो । हामी त्यही भूमिमा विश्वकपको शतवार्षिक मनाउँछौँ,’ जिआनीले भने, ‘त्यसपछि मुख्य आयोजक राष्ट्रले प्रतियोगिता सञ्चालन गर्नेछन् ।’ उरुग्वे फुटबल संघका अध्यक्ष इग्नासियो अलोन्सोले विश्वकपमा ६४ टोलीको सहभागिता हुनुपर्ने फिफा कंग्रेसमा प्रस्ताव राखेका थिए । गत अप्रिलमा आयोजित फिफाको विशेष सम्मेलनमा दक्षिण अमेरिकी फुटबलको नियामक निकाय कोनमेबोलले प्रस्ताव अघि सार्यो ।
यो प्रस्तावमाथि फिफामा यसै साता छलफल गर्दै छ । फिफा अध्यक्ष जिआनीले पनि उरुग्वेको प्रस्ताव सुरुमा अनौठो लागेको थियो । हामीले यसबारेमा अध्ययन गरौँ । जुन योजना सही लाग्यो,’ उनले भने, ‘विश्वकपमा सहभागी साना राष्ट्रका खेलको गुणस्तर निकै राम्रो देखियो । उनीहरूलाई मौका नदिने हो भने खेलप्रतिको लगाव र गुणस्तर खस्किन्छ ।’
जिआनीका अनुसार चालू विश्वकपमा नवप्रवेशी तथा साना टोलीहरूले उत्कृष्ट प्रदर्शन गरेका छन् । ‘हाम्रो कल्पनाबाहिर नयाँ र साना राष्ट्रले विश्वकपमा राम्रो प्रदर्शन गरे, १० अफ्रिकी राष्ट्रमध्ये ९ ले नकआउटसम्मको यात्रा तय गरे । यसैकारण उनीहरूलाई धेरैलाई अवसर दिनुपर्छ,’ उनले भने ।
६४ टोली हुँदा १२८ खेल
विश्वकपमा ६४ टोली सहभागिताको प्रस्ताव अप्रत्याशित मानिएको छ । संख्याको सहभागितामा प्रतियोगिता जटिल बन्ने धारणा खेलविज्ञहरूले राखेका छन् । सन् २०३० मा चार टोली रहेका १२ समूहबाट शीर्ष दुई र तेस्रो स्थानमा रहने उत्कृष्ट आठ टिम अन्तिम ३२ मा सहभागी हुनेछन् । विश्वकपका कुल खेल १२८ संख्या हुनेछन् । यो म्याच संख्या २३औँ संस्करणको तुलनामा २४ ले धेरै हो । सन् १९९८ देखि २०२२ को संस्करणको भन्दा दोब्बर हुनेछ । अमेरिका, क्यानडा र मेक्सिकोले आयोजना गरेको विश्वकपमा ४८ टोली सहभागी हुँदा ३२ टोलीका लागि ७२ खेल खेलाइएको थियो ।
लगातार २७ दिनसम्म ब्रेक नलिई फिफाले प्रिक्वार्टरफाइनल खेल आयोजना गर्यो । यसपटक फिफाले कुनै विश्राम ९६ खेल सञ्चालन गरेको थियो । ६४ खेल हुँदा प्रत्येक दिनमा तीनदेखि ६ वटासम्म खेल हुन सक्छन् । युइएफएका अध्यक्ष अलेक्जेन्डर केफिरिन फिफाको नयाँ प्रस्तावको विपक्षमा छन् । ‘यो निकै खराब प्रस्ताव हो । यसले प्रतियोगिता र छनोट प्रक्रिया सबैलाई गन्जागोल बनाउँछ,’ उनले भने ।
उत्तर अमेरिकी तथा क्यारेबियन फुटबलको नियामक निकाय कोनक्याफका अध्यक्ष भिक्टर मोन्टेलियानी फुटबलको इकोसिस्टमलाई धराशायी बनाउने बताए ।