भूकम्पले टहरोमा पुर्‍यायो, पहिरोले ज्यानै लग्यो

मंगलबार, ३० असार, २०८३
डिजिटल संस्करण
  • भूकम्पको तीन वर्षसम्म त्रिपाल र टिनको ओतमुनि जाजरकोटवासीको नियति, पुनर्निर्माणको टुंगो नहुँदा जोखिम झन् बढ्दै 

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर १७ कात्तिक ०८० मा ६.४ म्याग्निच्युडको भूकम्पले घर भत्काएपछि अस्थायी टहरामा पुर्यायो । तीन वर्षदेखि अस्थायी टहरामा बसिरहेका तिनै भूकम्पपीडित अहिले पहिरोको चपेटामा परेका छन् ।

भेरी नगरपालिका–२, राङ्सीमा आइतबार राति खसेको पहिरोले भूकम्पपीडितको टहरासहित स्थानीय ६० वर्षीया जयशीला शाहको ज्यान गएको छ । पहिरोमा उनकी ४० वर्षीया छोरी मेनुका शाह थापा र सातवर्षीया नातिनी टीका थापा घाइते भएका छन् । स्थानीयवासीले तत्काल उद्धार गरी उनीहरूको ज्यान बचाएका थिए । घाइतेको जिल्ला अस्पतालमा उपचार भएको छ । राङ्सीमा मात्र ६० घरपरिवार अस्थायी टहरामा छन् । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख बुद्धिसागर पुरीका अनुसार वर्षा भइरहेका वेला राति साढे १० बजेतिर पहिरो खसेको हो ।

जाजरकोटमा भूकम्पपछि अस्थायी टहरामा बस्ने क्रममा ज्यान गुमाएको घटना यो पहिलो होइन । यसअघि २ भदौ ०८१ मा नलगाड नगरपालिका–२, ठुलो डाँडागाउँमा पहिरोले अस्थायी टहरा पुरिँदा तीनजनाको ज्यान गएको थियो । प्रहरीको तथ्यांकअनुसार सो घटनामा दम्पती लालबहादुर परियार र मनीषा विक तथा उनीहरूका तीनवर्षीय छोरा शुभम परियारको मृत्यु भएको थियो ।

कुशे गाउँपालिका–९ की कल्पना नेपाली सुत्केरी भएको एक महिना पनि नपुग्दै चिसोका कारण ११ पुस ०८० मा अस्थायी टहरामै सुतेकै अवस्थामा मृत फेला परेकी थिइन् । त्यस्तै, नलगाड नगरपालिका–८, तल्लो सीमाकी शर्मिला चदाराको ११ मंसिर ०८० अत्यधिक चिसोका कारण ज्यान गएको थियो । त्रिपाल र टिनले बनेका टहराले जाडो छेक्न नसक्दा उनको मृत्यु भएको थियो ।

बर्खाले बढायो सास्ती
अहिलेको वर्षायाम प्रभावितहरूका लागि झन् त्रासदीपूर्ण बनेको छ । टहरामा बस्दै आएका भेरी नगरपालिका–१ का कमारो नेपालीले पानी परेपछि टिनका छाना चुहिने गरेको र भुइँ हिलाम्मे हुने गरेको गुनासो गरे । ‘कोरचौर, मैदे, रिम्नाका स्थानीय रातभर पानी थाप्दै बस्नुपर्ने अवस्था छ,’ उनले भने, ‘कति वेला पहिरो आउला वा टहरो भत्केला भन्ने डरले धेरै परिवार रातभर सुत्न सक्दैनन् ।’

टहरामा बस्दै आएका भेरी नगरपालिका–२ का बिर्खबहादुर कार्कीले भूकम्पबाट जोखिए पनि तीन वर्षदेखि टहरामै कष्टपूर्ण जीवन बिताइरहेको बताए । ‘वर्षामा पहिरोको डर, राति सर्पको त्रास, जाडोमा कठ्यांग्रिने चिसो र गर्मीमा टिनको गर्मीमा बाँच्नु नै हाम्रो नियति बनेको छ,’ उनले भने, ‘सरकारले कहिले स्थायी घर बनाइदिने हो, थाहा छैन । आफैँ बनाउन पैसा छैन ।’

भूकम्पको झन्डै तीन वर्षमा पनि जाजरकोटमा स्थायी आवास निर्माणको काम सुरु भएको छैन । प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले पुनर्निर्माणको क्षति मूल्यांकनका लागि केन्द्रबाट समयमै कर्मचारी उपलब्ध नहुनुका साथै स्थानीय तहबाट सहयोग नपाउँदा ढिलाइ भएको बताए । ‘स्थायी आवासका लागि वडाबाट सिफारिस आउनुपर्छ । त्यहाँबाटै ढिलो भएको छ । बल्ल भेरी नगरपालिकाबाट सिफारिस आएको छ,’ उनले भने, ‘सिफारिस आएका हकमा रुजु गरेर पहिलो किस्ता निकासा हुन्छ ।’ निजी आवास पुनर्निर्माणका लागि तराईमा तीन, पहाडमा चार र हिमालमा पाँच लाख तीन किस्तामा उपलब्ध गराउने र प्रबलीकरणका लागि ५० हजारदेखि एक लाखसम्म अनुदान दिने व्यवस्था छ । भेरी नगरपालिकाले आवास पुनर्निर्माणका लागि सोमबार मात्र एक सय ९१ जनाको पहिलो किस्ताका लागि सिफारिस गरेको मेयर चन्द्रप्रकाश घर्तीले बताए । 

See More On

सुझावित समाचार