अभियन्ता तथा विश्लेषक चन्द्रकिशोरलाई ३ प्रश्न

मंगलबार, ३० असार, २०८३
डिजिटल संस्करण

सेप्टिक ट्यांकी या ढल सफा गर्ने सफाइकर्मी मजदुरको अवस्था कस्तो पाउनुहुन्छ ?
समाजलाई सरसफाइ चाहिन्छ । यो काम ‘म्यानुअल’ हुन्जेल कुनै न कुनै व्यक्ति यसमा संलग्न भएकै हुन्छ । तर, कोही सरसफाइमा संलग्न भएकै कारण ऊमाथि जातीय विभेद हुनु, हेलाहोचो गरिनु निन्दनीय छ । शौचालय प्रबन्धनमा पछिल्लो समय निकै सुधार भएको छ । पालिका अस्तित्वमा आएपछि सहरमा मात्र नभई देहातका गाउँमा समेत सरसफाइकर्मी नियुक्त गर्न थालिएको छ । तर, तिनको पेसागत सुरक्षा छैन । पद निश्चित छैन । राम्रो तलब, सुविधा छैन । अत्यावश्यक सुरक्षा सामग्री पन्जा, जुत्ता, पोसाक, मास्क आदिको व्यवस्था छैन । स्वास्थ्य बिमाको सुविधा छैन । सहर सुतिरहँदा आफू जागा भएर सरसफाइ गर्ने मजदुरको सम्मान छैन । उनीहरूमाथि नै चरम जातीय विभेद छ ।

अहिलेको प्रविधिको युगमा पनि यति असुरक्षित रूपमा काम गर्नुपर्ने बाध्यता किन छ ?
यस्तो पेसामा तराईका दलितमध्ये डोम र मेहतर समुदायका मानिस संलग्न छन् । उनीहरूसँग आफ्नो जमिन छैन । रोजगारीका अन्य विकल्प पनि छैनन् । अन्य पेसा या व्यवसाय गर्ने अवस्था पनि छैन । त्यसैले, पुर्खाले गर्दै आएको यही पेसामा लाग्न उनीहरू बाध्य देखिन्छन् । उनीहरूसँग प्रविधियुक्त सामग्रीको पहुँच छैन । त्यससम्बन्धी ज्ञान पनि छैन । त्यसैले, बाध्यतावश उनीहरू असुरक्षित रूपमै यस्तो काम गरिरहेका छन् । 

यस्ता सफाइकर्मी मजदुरको सुरक्षा र सम्मानका लागि के गर्नुपर्ला ? 
सर्वप्रथम पेसागत सुरक्षा र सम्मान हुनुपर्छ । पेसाकै कारण छुवाछुत र जातीय विभेद हुनुहुँदैन । पोसाक, सुरक्षा सामग्रीलगायत अत्यावश्यक उपकरण उपलब्ध गराउनुपर्छ । आधुनिक प्रविधिबारे पर्याप्त तालिम दिएर त्यस्ता उपकरणको प्रयोग बढाउनुपर्छ । रसायनयुक्त फोहोरबारे तालिम दिएर त्यसबाट जोगिने उपाय सिकाउनुपर्छ । 

सुझावित समाचार